४७ घन्टापछि भेटियो सन्तकुमारको शव

४७ घन्टापछि भेटियो सन्तकुमारको शव


लुम्बिनी ।

दुर्गा मूर्ति विसर्जनका क्रममा दानव खोलामा डुबेर हराइरहेका सन्तकुमार राजभरको शव भेटिएको छ ।

मंगलबार दिउसो १२ः४५ बजेदेखि दानव खोलामा हराइरहेका २० वर्षीय सन्तकुमारको शव आज दिउसो ११ः४५ बजे स्थानीयले फेला पारेका हुन् ।

मूर्ति विसर्जनका क्रममा कोटहीमाई गाउँपालिका–१ दुईमोहानघाटस्थित दानव खोलामा मंगलबार सन्तकुमारसँगै डुबेर हराइरहेका २४ वर्षीय अजयकुमार नाउ र १८ वर्षीय अजय राजभरको शव सोही दिन स्थानीयले खोजतलासका क्रममा फेला पारेका थिए ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोरसहितको उद्धार टोलीले मंगलबारबाट दानव खोलामा हराइरहेका कोटहीमाई–१ अमरगन्जका सन्तकुमारको खोजी जारी राखेको थियो । स्थानीयले ४७ घन्टापछि उनको शव फेला पारेको प्रहरीले जनाएको छ ।

डुबेर मृत्यु भएका सोही गाउँका २ जनाको शव पोस्टमार्टम भई यसअघि नै अन्त्येष्टि भइसकेको र आज फेला परेका सन्तकुमारको शव पोस्टमार्टमको प्रक्रियामा रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक कञ्चन तामाङले बताए ।