काठमाडौं । एनपीएलमा जनकपुर बोल्ट्स कर्णाली याक्ससँग हारेको छ ।
त्रिवि मैदानमा भएको खेलमा जनकपुर १९ रनले हारेको हो । कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा अलआउट भएर ११३ रनमा रोकियो ।
जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। उनले १७ बलमा २ छक्का प्रहार गरे। मोइन अलीले २२ बलमा १९, हरमित सिंहले १३ बलमा १९ तथा जेम्स निसमले १४ बलमा १५ रन बनाए।
मायन यादवले ११ बलमा १४ रन जोड्दा अनिल साहले १७ बलमा ११ रन बनाए। कुशल परेराले ४ बलमा ६ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कर्णालीका लागि हुसैन तलातले ३ विकेट लिए। नन्दन यादव र उनीश ठाकुरीले समान ३ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिए।
यसअघि कर्णालीले ९ विकेट गुमाएर १३२ रन बनाएको थियो ।
कर्णालीको ब्याटिङ सुरुदेखि नै खराब रह्यो ।
पहिलो ओभरमै कर्णालीका मार्क वाट मोइन अलीको बलमा आउट भएका थिए । त्यसपछि दोस्रो ओभरमा राहुल यादवले दीपक डुम्रेको विकेट लिए । राहुलले पाँचौ ओभरमा पनि विकेट लिए । उनले पाकिस्तानी अलराउन्डर हुसेन तलतको विकेट लिएका हुन् । राहुलले ४ ओभरमा १५ रन दिएर २ विकेट लिए । उनले पहिलो बलमै विकेट लिएका थिए । उनको बलमा कुनै पनि ब्याटरले बाउन्ड्री हान्न सकेनन् । उनले वाइडबाट मात्र ७ रन दिएका थिए । उनको घातक बलिङमा कर्णालीले चुनौतीपूर्ण स्कोर बनाउन सकेन । राहुल ट्यालेन्ट हन्टबाट आएका १६ वर्षीय युवा फास्टबलर हुन् ।
यस्तै जनकपुरका कप्तान हरमित सिंहले तीन विकेट लिए भने मोइन अलीले २ विकेट लिए ।
कर्णालीका लागि अरिफुल इस्लामले ४३ र पवन सर्राफले ३७ रनको योगदान दिए ।
पाकिस्तानी क्रिकेट बोर्डले खेलाडीहरूलाई एनपीएल खेल्न एनओसी नदिएको र २५ हजार डलर मागेको विषयमा विवाद चुलिएका बेला कर्णालीबाट पाकिस्तानी खेलाडी तलतले डेब्यु गरेका छन् । तर उनी ३ रन मा आउट भए ।

प्रतिक्रिया