१८ महिनामा सक्नुपर्ने पुल ७ वर्षमा पनि निर्माण भएन

१८ महिनामा सक्नुपर्ने पुल ७ वर्षमा पनि निर्माण भएन


गोरखा ।

गोरखाको बेनीघाट–आरुघाट सडकखण्डअन्तर्गत पर्ने अजुवा खोला मोटरेबल पुल निर्माण सुरु भएको ७ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । आरुघाट गाउँपालिका–३ र ४ जोड्ने पुल निर्माणको काम लामो समयदेखि अलपत्र परेको हो ।

११ किलो छेपेटार भालुस्वाँर बारपाक सडक आयोजनाको कार्यालयले ठेक्का लगाएको उक्त पुल निर्माणमा ठेकेदार कम्पनीको कारण ढिलासुस्ती भएको हो । २०७४ साउनमा कार्यालयले कन्काई गोरखा एप्रोपेट जेभीसँग मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

सम्झौताअनुसार १८ महिनाभित्र २०७५ माघमा निर्माण सम्पन्न गर्नुपर्ने पुल सम्झौता भएको ७ वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा छ । पुल निर्माणका लागि ठेकेदार कम्पनीले हेलचेक्रयाइँ गर्दासमेत कार्यालयले आवश्यक पहल नगरेको स्थानीयबासीको गुनासो छ ।

निर्धारित समयमा काम सम्पन्न नगरेको कम्पन्नीलाई पटक–पटक गरेर अहिलेसम्म ४ पटक म्याद थप गरिसकेको कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए । पछिल्लोपटक गरिएको म्याद थपअनुसार गएको असारसम्म काम सम्पन्न गर्नुपर्ने थियो ।

कुल ४ करोड रुपैयाँमा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको कार्यालयले ठेकेदार कम्पनीलाई ३ करोड २० लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । पुलको भौतिक प्रगति भने ८३ प्रतिशतमात्र रहेको कार्यालय प्रमुख खड्काले बताए ।

ठेक्का सम्झौताअनुसार अझै पनि पुलसँगको पहुँचमार्ग निर्माण, पुलको दायाँबायाँ रेलिङ निर्माणलगायत काम बाँकी नै छ । ठेकेदार कम्पनीले नियमित रूपमा काम गरे बाँकी रहेको काम सम्पन्न गर्न धेरै समय नलाग्ने उनको भनाइ छ ।

३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमा फुटपाथसहित निर्माण गर्ने गरी कार्यालयले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । ‘ठेकेदार कम्पनीले गरेको लापरबाहीका कारण नै पुल निर्माणमा ढिलाइको मुख्य कारण हो, त्यसबाहेक भौगोलिक कठिनाइका कारण पनि पुल निर्माणमा केही समस्या भएको छ,’ उनले भने ।

चौथो पटक थप गरिएको समयमा पनि ठेकेदार कम्पनीले काम सम्पन्न नगरेपछि कार्यालयले पुनः म्याद थपको तयारी गरेको कार्यालय प्रमुख खड्काको भनाइ छ ।