भौतिक पूर्वाधार मन्त्रालयसहित १० वटा सरकारी कार्यालयको बिजुली काटियो

भौतिक पूर्वाधार मन्त्रालयसहित १० वटा सरकारी कार्यालयको बिजुली काटियो


काठमाडौं ।

सरकारी कर्यालयहरुले नै विद्युत बक्यौता तिर्न छाडेपछि धमाधम विद्युत् लाइन काटिन थालेको छ ।

मंगलबार १ करोड ४६ लाख ६७ हजार रुपैयाँ तिर्न बाँकी रहेको काठमाडौंको केन्द्रीय कारागारको लाइन काटेको नेपाल विद्युत् प्राधिकरणले बुधबार पोखराका १० वटा सरकारी कार्यलयको विद्युत् लाइन कटौती गरेको छ ।

बुधबार पोखरास्थिति गण्डकी प्रदेशका मन्त्रालयहरुकै लाइन काटिएको छ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको समेत लाइन काटिएको छ । प्राधिकरणका अनुसार मन्त्रालयहरुले करिब १ लाख ५३ हजार रुपैयाँ महशुल तिर्न बाँकी थियो ।

प्राधिकरणले पोखरास्थित प्रादेशिक कृषि निर्देशनालयको लाइन काटेको जनाएको छ, जसले २३ हजार ३४१ रुपैयाँ महसुल तिर्न बाँकी छ ।

६२ हजार २३५ रुपैयाँ महसुल नतिरेको भूमि व्यवस्थापन एसीएमको पनि लाइन काटिएको छ । ५० हजार ९१३ रुपैयाँ महसुल नतिरेको प्रादेशिक पशुरोग निदान विभाग, ७६ हजार ६८९ रुपैयाँ महशुल नतिरेको फेवाताल जलाधार आयोजना, १७ हजार ८६९ रुपैयाँ महसुल नतिरेको विजयपुर बेगनास ताल सिँचाइ कार्यालयको पनि लाइन काटिएको छ । यसैगरी करिब ५६ हजार बक्यौता रहेको प्रादेशिक शिक्षा निर्देशनालयको पनि लाइन काटिएको छ ।