झारफुक गर्न गएकी महिलालाई धामीले गरे बलात्कार

झारफुक गर्न गएकी महिलालाई धामीले गरे बलात्कार


धनुषा ।

धनुषामा बलात्कार गरेको आरोपमा एक झाँक्री (धामी) पक्राउ परेका छन् ।

झारफूक तथा भूत भगाउने निहुँमा ती महिलालाई धामीले बलात्कार गरेको आरोप छ ।

दशैंमा अष्टमी तिथिका दिन धनुषाको औरही नगरपालिका – १ पौडेश्वरका एक इन्जिनियरकी पत्नीलाई झारफुकको नाममा बलात्कार गरेको आरोपमा धनुषाको सबैला नगरपालिका वडा नं. ११ अमरखन्नाका धामी विष्णु भन्ने विष्णुदेव ठाकुर पक्राउ परेका छन् ।

पत्नीलाई भूत प्रेतको साया भएको भन्दै इन्जिनियरले आफ्नो पत्नीलाई झारफुक र तन्त्र विद्या मार्फत ठिक गराउन धामी ठाकुर कहाँ लगेका थिए । ठाकुरले बताए अनुसार विधि विधान गरी कालरात्रिको दिन उनलाई उनकै गाउँको श्मसान घाटमा लगेर बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

झाँक्रीलाई ईलाका प्रहरी कार्यालय सबैलामा उजुरीको आधारमा पक्राउ गरिएको छ । इन्जिनियर दम्पतिले धामी ठाकुरमाथि बलात्कारको आरोप लगाउँदै उजुरी गरेपछि अनुसन्धानको लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सो सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाले धामीलाई पक्राउ गरी महिलालाई मेडिकल चेकअप गरिएको जसमा बलात्कार भएको ट्रेस भेटिएको जनाएको छ । घटनाको एक सातापछि मात्र इन्जिनियर दम्पतिले धामीमाथि उजुरी हालेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाले धामीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

इन्जिनियरले दिएको बयानमा पत्नीलाई भूतप्रेत लागेको भन्दै छुटाउनको लागि धामी विष्णुदेव ठाकुरसँग सम्पर्क गरे । सम्पर्कपछि उनले बताएको विधि विधान अनुसार कालरात्रि अर्थात अष्टमी तिथिको दिन (कार्तिक ५ गते) राति पौडेश्वर गाउँभन्दा बाहिर रहेको श्मसान घाटमा लगियो भनिएको छ । महिलाको श्रीमान इन्जिनियर पनि सँगै गएका थिए ।

तीनै जना सँगै श्मसान घाट जाँदा धामीले इन्जिनियरलाई बाहिरै बस्न भनेर महिलालाई भित्र लगेका थिए । केही बेरपछि इन्जिनियरलाई बोलाउँदा महिला बेहोस र नग्न अवस्थामा देखिएको बयान रेकर्ड गरिएको छ । इन्जिनियर र धामी दुबै जनाले महिलालाई उठाएर घर ल्याएको प्रहरीको बयानमा भनिएको छ ।