नेपालमा उत्पादित सुपारी अन्य देशमा निर्यात गर्न रोक लगाइएको छैन : सचिव निरौला

नेपालमा उत्पादित सुपारी अन्य देशमा निर्यात गर्न रोक लगाइएको छैन : सचिव निरौला


काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपालमा उत्पादित सुपारी निर्यात गर्न कानुनी रूपमा प्रतिबन्ध नगरेको स्पष्ट पारेका छन्।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै सचिव निरौलाले यस्तो बताएका हुन्।

उनले नेपालमा उत्पादित सुपारी भारत लगायतका देशमा निर्यात गर्दा सुपारीको डिइनए परीक्षण गरेर मात्रै निर्यात गर्न राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको निर्देशन भएकाले निर्यात हुन नसकेको बताए।

उनले समितिको निर्देशनअनुसार उद्योग मन्त्रालयले अर्थ मन्त्रालयमार्फत भन्सार विभागलाई डिएनए परीक्षण भएको सुपारी मात्रै निर्यात गर्न निर्देशन दिएको भन्दै अन्य कुनै कानुनले निर्यातमा प्रतिबन्ध नलगाएको बताए।

उनले नेपालमा नै उत्पादित सुपारीको डिएनए परीक्षण गर्ने कुनै मापदण्ड वा निर्देशिका स्पष्ट नहुँदा मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघलाई सिफारिस गर्नसमेत नसकेको बताए।

उनले समितिबाट नेपालमा नै उत्पादित सुपारीको उत्पत्ति प्रमाण पत्र जारी गरी निर्यात गर्ने निर्देशन भए मन्त्रालय तत्काल सिफारिस गर्न तयार रहेको बताए। उनले सुपारीलाई बाहिर निर्यात गर्न अन्य वस्तु जस्तै दिने वा के गर्ने भन्ने विषयमा छलफल बहस आवश्यक रहेको बताए।

उनले भने, ‘२०७९ साल ४ महिना १६ गते संघीय राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको पत्रबाट निर्देशन भएअनुसार डिएनए परीक्षणबाट मात्रै नेपालबाट उत्पादित भएको प्रमाणित सुपारीलाई निर्यातको अनुमति दिने भनेर उद्योग वाणिज्य आपूर्ति मन्त्रालयमार्फत विभाग र अर्थमन्त्रालय मार्फत भन्सार विभागलाई निर्देशन दिने निर्णय भएको छ। सुपारीको डिएनए परीक्षण गर्ने कुनै मापदण्ड निर्देशिका नभएकाले सुपारीको कृषि मन्त्रालयबाट प्रमाणित भएर आएपछि उद्योग मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघलाई कार्यविधि अनुसार सिफारिस गर्नलाई समितिको निर्देशन डिएनए परीक्षण गर्नुपर्ने निर्देशनअनुसार सरकारले उद्योग वाणिज्य महासंघलाई लेख्न नसकेको हो। नेपालमा उत्पादित सुपारी भारत लगायतका देशमा निर्यात गर्नलाई कुनै पनि रोक लगाइएको छैन।ु

उनले कृषि मन्त्रालयबाट सुपारीको उत्पत्तिको प्रमाणपत्रसम्बन्धी राय आएमा नेपाल उद्योग वाणिज्य महासंघलाई उत्पतिको प्रमाणपत्र जारी गर्न लेखी पठाउन सकिने बताए।

उनले आयातमा नियन्त्रण गर्ने व्यवस्था लागू हुँदा स्वदेशमा समेत नेपालमा उत्पादन भएको सुपारी खपत हुनसमेत नसक्ने बताए।