मुगु सामूहिक हत्या प्रकरण : ५ दिन बितिसक्दा पनि आफन्तले शव बुझेनन्

मुगु सामूहिक हत्या प्रकरण : ५ दिन बितिसक्दा पनि आफन्तले शव बुझेनन्


मुगु ।

छायानाथ रारा नगरपालिका वडा नं –६ मुन्दु गाउँमा आमा सहित ३ जना बालकले सामूहिक ज्यान गुमाएका आफन्तले घटनाको ५ दिन बितिसक्दा पनि शव बुझेका छैनन् ।

मृतकका आफन्त कान्छा काका खेम बहादुर रावलले दोषीलाई जिल्ला प्रहरी कार्यालय मुगुले सार्वजनिक नगरेसम्म शव नबुझ्ने अडान लिएका कारण मृतकको शव जिल्ला अस्पतालको शव गृहमा नै रहेको छ ।

यथा सक्दो घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीलाई सार्वजनिक नगरेसम्म शव नबुझ्ने उनले बताए । जिल्ला अस्पताल मुगुका कार्यालय प्रमुख डाक्टर कमल ढुङ्गानाले ११ वर्षीय छोरा मनोज बोहरा, ८ महिनाका छोरा रहर बोहरा र ८ वर्षीया छोरी अप्सरा बोहराको शवको पोस्टमार्टम आइतबार नै भइसकेको छ ।

२७ वर्षीय आमा श्रीदेवी बोहराको सोमवारको दिनमा पोस्टमार्टम भइसकेको छ तर आफन्तजनले शव नबुझ्दा ती चारै जनाको शव अहिले शव गृहमा राखिएको छ।

यता जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार शव बुझ्नलाई जिल्ला प्रशासन कार्यालय मुगुले मृतकका आफन्तसँग सहकार्य गरिरहेको छ। थापाले भने अनुसन्धान कार्य अगाडी भइरहेको उनले बताए ।

भौगोलिक विकटताका कारणले एक जनालाई अनुसन्धान गर्न दुई दिन देखि तीन दिनसम्म समय लाग्दा अनुसन्धानमा अलि लम्बिएको हो प्रमुख थाले भने। गएको १० गते शुक्रबार उनीहरूको सामूहिक हत्या भएको थियो ।