रिगललाई पक्राउ गर्न सर्वाेच्चकाे आदेश

रिगललाई पक्राउ गर्न सर्वाेच्चकाे आदेश


काठमाडौँ ।

सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई पक्राउ गर्न आदेश दिएको छ ।

सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती मानन्धरकाे पक्षमा फैसला सुनाएको हो ।

बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो ।

इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक प्रतिकुल देखिएको’ भनेको छ।

रिगलले खुकुरी प्रहार गरी २९ असार २०७२ सालमा २९ वर्षीय चेतन मानन्धरको हत्या गरेका थिए । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।

चेतनको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगललाई संविधान दिवसको अवसरमा सरकारले बाँकी कैद माफी दिएपछि जेलबाट छुटेका थिए ।

उक्त निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

सरकारको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती १७ असोजदेखि अनशन समेत बसेकी थिइन्।