टिकटकमा छोराछोरी के गर्दै छन् ? अब अभिभावकले थाहा पाउने

टिकटकमा छोराछोरी के गर्दै छन् ? अब अभिभावकले थाहा पाउने


काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले किशोरकिशोरीको डिजिटल गतिविधिबारे अभिभावकलाई थप जानकारी उपलब्ध गराउने उद्देश्यले ‘फ्यामिली पेयरिङ’ सुविधालाई नयाँ स्वरूपमा सार्वजनिक गरेको छ ।

नयाँ सुविधामार्फत अभिभावकले आफ्ना किशोरकिशोरीले टिकटकमा बिताउने समय, अनलाइन अन्तरक्रिया, कन्टेन्टमा रुचि तथा सार्वजनिक रूपमा पोस्ट गर्ने सामग्रीबारे जानकारी पाउन सक्नेछन् । यसले किशोरकिशोरीको डिजिटल व्यवहार बुझ्न र उनीहरूको अनलाइन अनुभवलाई सुरक्षित बनाउन अभिभावकलाई सहयोग पुग्ने टिकटकले जनाएको छ ।

नयाँ ‘फ्यामिली पेयरिङ’ ड्यासबोर्डमा चार प्रमुख विषयका जानकारी समेटिएका छन् । यसमा स्क्रिन टाइम, अनलाइन अन्तरक्रिया, कन्टेन्टसम्बन्धी रुचि र सार्वजनिक पोस्ट रहेका छन् । यी जानकारीका आधारमा अभिभावकले किशोरकिशोरीको डिजिटल गतिविधिमा आएको परिवर्तन पहिचान गर्न र आवश्यक सेटिङ मिलाउन सक्नेछन् ।

नयाँ अपडेटमा स्क्रिन टाइमसम्बन्धी जानकारीलाई प्राथमिकता दिइएको छ । अभिभावकले किशोरकिशोरीले औसतमा दैनिक कति समय टिकटक चलाउँछन्, रातिको समयमा कति समय बिताउँछन् र स्क्रिन टाइम व्यवस्थापनका लागि कस्ता सेटिङ प्रयोग गरिरहेका छन् भन्ने हेर्न सक्नेछन् ।

त्यस्तै, अनलाइन अन्तरक्रियाअन्तर्गत किशोरकिशोरीका फलोअर र उनीहरूले फलो गरेका एकाउन्टको संख्यामा आएको परिवर्तन, सम्पर्कमा रहेका तथा ब्लक गरेका एकाउन्टबारे जानकारी उपलब्ध हुनेछ । आगामी महिनाहरूमा उनीहरूले टिकटकमा कसलाई सन्देश पठाइरहेका छन् भन्ने जानकारीसमेत अभिभावकलाई उपलब्ध गराउने कम्पनीको योजना छ ।

किशोरकिशोरीको कन्टेन्ट रुचिबारे जानकारी दिन उनीहरूले फलो गरेका प्रमाणित क्रिएटरका केही भिडियोसमेत ड्यासबोर्डमा देखाइनेछ । यसबाट उनीहरू कुन विषय र समुदायप्रति आकर्षित भइरहेका छन् भन्ने बुझ्न अभिभावकलाई सहज हुने टिकटकको भनाइ छ । कम्पनीका अनुसार परामर्शमा सहभागी ८० प्रतिशतभन्दा बढी अभिभावकले यस्तो सुविधा आवश्यक रहेको बताएका थिए ।

यसैगरी, किशोरकिशोरीले हरेक साता सार्वजनिक रूपमा पोस्ट गरेका सामग्री र ती पोस्टमा प्राप्त भ्युजको संख्या पनि अभिभावकले हेर्न सक्नेछन् । ड्यासबोर्डमा उपलब्ध जानकारी दैनिक अद्यावधिक हुनेछ भने अभिभावकले आवश्यकताअनुसार त्यहीँबाट सेटिङ परिवर्तन गर्न सक्नेछन् । नयाँ सुविधा वेब ब्राउजरबाट समेत प्रयोग गर्न सकिनेछ ।

टिकटकले किशोरकिशोरीको सुरक्षाका लागि यसअघि नै निजी एकाउन्ट, उमेरअनुसार उपयुक्त सामग्री तथा अन्य गोपनीयता र सुरक्षा व्यवस्था लागू गरेको जनाएको छ । उनीहरूको एकाउन्टमा दैनिक स्क्रिन टाइम पनि पूर्वनिर्धारित रूपमा ६० मिनेट तोकिएको छ ।

यसैबीच, सम्भावित हानिकारक सामग्रीको खोजीबारे अभिभावकलाई सचेत गराउने नयाँ अलर्ट प्रणाली पनि विकास भइरहेको कम्पनीले जनाएको छ । युवा सुरक्षा तथा मानसिक स्वास्थ्य क्षेत्रका विज्ञसँगको सहकार्यमा तयार भइरहेको उक्त सुविधाले किशोरकिशोरीले सम्भावित हानिकारक सामग्री खोज्ने प्रयास गरेको हुन सक्ने अवस्थामा अभिभावकलाई जानकारी दिनेछ । साथै, त्यस्तो अवस्थामा उनीहरूसँग कसरी संवाद गर्ने र सहयोग पुर्‍याउने भन्नेबारे विज्ञका सुझावसमेत उपलब्ध गराइनेछ ।

यसका लागि टिकटकले बोस्टन चिल्ड्रेन्स हस्पिटलको डिजिटल वेलनेस ल्याब तथा सेफ अनलाइन स्ट्यान्डर्ड्सका संस्थापक एवं निर्देशक र जोन्स हप्किन्स सेन्टर फर सुसाइड प्रिभेन्सनका सम्बद्ध फ्याकल्टी डा. ड्यान रिडेनबर्गसँग सहकार्य गरिरहेको छ । यो सुविधा भने हाल विकासकै चरणमा छ ।

टिकटकले शिक्षक तथा युवा सुरक्षा क्षेत्रका विज्ञसँगको परामर्शमा तयार पारेको ‘एजुकेटर्स गाइड’ पनि सार्वजनिक गरेको छ । यसमा टिकटकको कार्यप्रणाली, कक्षाकोठामा प्रयोग गर्न सकिने सामग्री तथा विद्यार्थी र परिवारसँग अनलाइन सुरक्षा, डिजिटल स्वास्थ्य र मिडिया साक्षरताबारे छलफल गर्न आवश्यक मार्गदर्शन समेटिएको छ ।

किशोरकिशोरीको डिजिटल सुरक्षामा परिवारसँगै विद्यालयको भूमिका पनि महत्त्वपूर्ण हुने भएकाले शिक्षकका लागि यस्तो सामग्री तयार पारिएको कम्पनीले जनाएको छ । आगामी केही साताभित्र कक्षाकोठामा प्रयोग गर्न मिल्ने थप सामग्रीसमेत सार्वजनिक गर्ने टिकटकको योजना छ ।

नयाँ फ्यामिली पेयरिङ सुविधा र किशोरकिशोरीको सुरक्षासम्बन्धी थप जानकारी टिकटकको सेफ्टी सेन्टरमार्फत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।