सर्वाेच्चकाे परमादेशलगत्तै समातिए रिगल

सर्वाेच्चकाे परमादेशलगत्तै समातिए रिगल


काठमाडाैँ ।

सर्वोच्च अदालतले आममाफी दिने निर्णय बदर गर्दै तत्काल पक्राउ गर्न परमादेश दिएलगत्तै प्रहरीले योगराज ढकाल रिगललाई पक्राउ गरेको छ।

उनलाई बाँकेको नेपालगन्जबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी कुबेर कडायतले जानकारी दिए।

उनलाई दाङस्थित जिल्ला कारागारबाट छाडिएको थियो। अब उनलाई दाङकै कारागारमा लगिने कडायतले बताए।

बिहीबार सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपतिबाट दिइएको कैद मिनाह बदर गर्दै पक्राउ गर्न आदेश दिएकाे थियाे ।

व्यक्ति हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद भोगिरहेका रिगललाई सरकारले ४० प्रतिशत कैद भुक्तान गरेको र चालचलन असल भएको भन्दै संविधान दिवसमा अवसरमा कैद मिनाहका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई कैद माफी दिएका थिए। रिगलले खुँडा प्रहार गरी हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले कैद मिनाहविरुद्ध सर्वोच्चमा मुद्दा हालेकी थिइन्।

सर्वोच्चले सरकारको उक्त निर्णय उल्ट्याउँदै बाँकी कैद असुलका लागि पक्राउ गर्न आदेश दिएको थियो। उनले हत्या अभियोगमा ११ वर्ष ११ महिना पाँच दिन कैद भुक्तान गर्न बाँकी छ।