रिगलले अब ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने (पूर्ण पाठ)

रिगलले अब ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने (पूर्ण पाठ)

'कैद मिनाहा गर्दा पीडितकाे सहमति लिनू'


काठमाडौं ।

सर्वोच्च अदालतले योगराज ढकाल रिगलको कैद मिनाहा  गर्ने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर गरेको हाे ।

याे आदेशससँगै पक्राउ परेका योगराज रिगल ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने भएको हो । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परिसकेका छन् ।

सर्वोच्चले चेतन मानन्धर हत्याको मुद्दा हाल सर्वोच्च अदालतमा पुनरावेदनकै क्रममा रहेकाले यसमा कैद छुट तथा मिनाहा दिन नमिल्ने भनेको छ । त्यस्तै रिगलको कैद मिनाहा गर्नुको उचित कारण पनि सरकारले उल्लेख नगरेको सर्वोच्चको ठहर छ ।

यस्तै, सर्वोच्च अदालतले कैद कट्टी गर्दा वा छोट्याउँदा पीडितको पनि सहमति लिन आदेश दिएको छ । ‘कैद कट्टी गर्ने/कम गर्ने, छोट्याउने वा मिनाहा दिनेजस्ता काम कारबाही र निर्णय गर्दा कानुनद्वारा निर्धारित प्रतिशतको सीमा बन्देजका अतिरिक्त पीडितको हक संरक्षित रहने गरी निजको सहमति मञ्जुरी समेत लिई, पीडितलाई सामाजिक पुनस्थापना र क्षतिपूर्तिसहितको न्याय प्राप्त भएको अवस्था सुनिश्चित गरी, यस अदालतको आदेश र प्रतिपादित सिद्धान्तहरुसहित कानुनमा उल्लेख भएका अन्य शर्तहरु समेतको समूचित रुपमा अनुशरण गरी तथा अवस्थाअनुसार सार्वजनिक हित, चासो र सरोकारका विषयतर्फ समेत दृष्टिगत गरी सजाय क मगर्ने वा घटाउने, छुट दिने निर्णय गर्न र यसरी गरिने निर्णयमा वस्तुगत आधार र उचित कारण अभिव्यक्त रुपमा खुलाएर मात्र निर्णय गर्नु भनी प्रत्यार्थीहरुका नाममा परमादेश जारी हुने ठहर्छ।’ आदेशमा उल्लेख छ।

हेर्नुहाेस् संक्षिप्त आदेशकाे पूर्ण पाठः