काठमाडौं महानगरपालिकाले माग्यो ७१ प्रधानाध्यापक र ११ स्रोत शिक्षक, कसरी दिने आवेदन ?

काठमाडौं महानगरपालिकाले माग्यो ७१ प्रधानाध्यापक र ११ स्रोत शिक्षक, कसरी दिने आवेदन ?


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले प्रधानाध्यापक र स्रोत शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ ।

महानगरले विभिन्न तह गरी ७१ जना प्रधानाध्यापक र ११ स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार ५ वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्नुपर्ने भएकाले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको हो ।

महानगरले आधारभूत तह (१–५) का लागि ६ जना, आधारभूत तह (१–८) का लागि २२ जना र माध्यमिक तहका लागि ४३ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको छ । विद्यालय समायोजन वा थपघट भएमा संख्या थपघट हुनसक्ने उल्लेख गरेको छ ।

मंसिर १ गतेसम्म इच्छुक उम्मेद्वारले दरखास्त दिन सक्नेछन् । दरखास्त दिनका लागि सम्बन्धित तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि भएको हुनुपर्नेछ ।

यस्तै महानगरपालिकाले अंग्रेजी विषयका लागि २ जना, नेपाली विषयका लागि २ जना, गणित विषयका लागि ३ जना, सामाजिक विषयका लागि २ जना र विज्ञान विषयका लागि २ जना स्रोत शिक्षकको लागि दरखास्त आह्वान गरेको छ ।

स्रोत शिक्षकका लागि १ मंसिरसम्म इच्छुक उम्मेदवारले दरखास्त दिनसक्नेछन् । स्रोत शिक्षकका लागि लिखित, प्रयोगात्मक र अन्तर्वार्ता हुनेछ भने परीक्षा शुल्क २ हजार लाग्नेछ । १८ मंसिरमा परीक्षा सञ्चालन गर्ने महानगरले जनाएको छ ।