सार्वजनिक गाडीबाट १ हजार किलो चिनी बरामद

सार्वजनिक गाडीबाट १ हजार किलो चिनी बरामद


काठमाडौं ।

बजारमा चिनीको अभाव भएसँगै नेपालको तराईका विभिन्न जिल्लाबाट काठमाडौँ आउने सार्वजनिक यातायातका साधनको माध्यमबाट अबैध रुपमा काठमाडौं चिनी भित्रिनेगरेको पाइएको छ ।

अवैध रुपमा नेपालको पूर्वी क्षेत्रका विभिन्न स्थानबाट वीपी राजमार्ग भएर राजधानी चिनी भित्रिने सूचनाको आधारमा प्रहरीले वीपी राजमार्गमा सञ्चालन हुने सार्वजनिक यातायातको साधन चेकजाँच गरी अवैध रुपमा ल्याइएको चिनी बरामद गरेको हो ।

वीपी राजमार्गमा चल्ने सवारी साधनमा अवैध रुपमा चिनीको ओसार पसार भएको सूचनाको आधारमा प्रहरी चौकी काभ्रेभञ्ज्याङका प्रहरी र ट्राफिक प्रहरीले बुधबार र बिहीबार राजमार्ग गुड्ने सवारी चेकजाँच गर्दा करिब एक हजार किलोग्राम चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले प्रहरीले पूर्वका विभिन्न जिल्लाबाट वीपी राजमार्ग भई काठमाडौँ भित्रिने सवारी चेकजाँच गर्दा बोरामा सानो पोको बनाइ लुकाइछिपाइ अबैध रुपमा ल्याइएको ३३ बोरा चिनी बरामद गरेको बताए ।

उनले प्रहरी बरामद गरेको चिनी १० क्विन्टल अर्थात् करिब एक हजार किलोग्राम रहेको बताए । पछिल्लो केही महिनादेखि बजारमा चिनीको अभाव भएपछि नेपालको भारतसँग सिमाना जोडिएका पूर्वी जिल्लाबाट बोरामा चिनीको साना सानो पोका बनाइ ल्याई बजारमा बिक्री हुनेक्रम बढेको छ ।

विशेषगरी जनकपुर, सर्लाही, बिरगञ्जलगायतका क्षेत्रबाट राजधानी तथा बनेपा आउने सवारी साधनमा त्यसका चालक, सहचालकले अबैध रुपमा चिनी ल्याइ बजारमा प्रतिकिलोग्राम एक सयदेखि ११५ रुपैयाँसम्म चिनी बिक्री गर्दैआएका छन् ।

वीपी राजमार्गको काभ्रेभञ्ज्याङमा बरामद गरिएको चिनीको विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।