परिवारका ४ जनाको हत्यापछि विक्षिप्त भएर अस्पतालबाट बेपत्ता भएका दीपक आफन्तको घरमा भेटिए

परिवारका ४ जनाको हत्यापछि विक्षिप्त भएर अस्पतालबाट बेपत्ता भएका दीपक आफन्तको घरमा भेटिए


मुगु ।

परिवारका ४ जनाको हत्यापछि विक्षिप्त बनेर अस्पतालबाटै बेपत्ता भएका दीपक बोहरा आफन्तको घरमा भेटिएका छन् ।

घरका ४ जना सदस्यको सामूहिक हत्या भएको खबर पाएपछि वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका दीपक काम छाडेर नेपाल फर्किएका थिए ।

मानसिकरुपमा विक्षिप्त भएपछि कुनै अप्रिय घटना नघटोस् र होस सन्तुलनमा रही रहोस् भनेर दीपकलाई प्रहरीले निगरानी गर्दै उनका कान्छा ससुरा खेमबहादुर रावलको जिम्मा लगाएको थियो । दीपकले हत्या गरिएकी श्रीमती र तीन छोराछोरीको शव परीक्षण सकिए पनि हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिँदै आएका थिए ।

दीपक बिहीबार राति ८ बजे छायानाथ रारा नगरपालिका-४ भामवाडा गाउँमा एक आफन्तको घरमा भेटिएका हुन् । उनी अहिले प्रहरी र नगर प्रहरीको निगरानीमा नगरप्रमुख विष्णुकुमार भामसँग रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

मुगुस्थित छायानाथ रारा-६ मन्दु गाउँमा २८ वर्षीया श्रीमती श्रीदेवी बोहरा, ११ वर्षीया छोरा मनोज बोहरा, आठ वर्षीया छोरी अप्सरा बोहरा र आठ महिने छोरा रहर बोहराको हत्या भएको थियो ।

यही कात्तिक १० गते हत्या भएको सूचना पाउनेबित्तिकै प्रहरीको टोलीले घरभित्र खोजी गर्दा आमासहित तीन सन्तानको धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या गरेको अवस्थामा शव फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रनाउ थापाका अनुसार कात्तिक १३ गते सोमबार चारै मृतकको शव परीक्षण गर्ने कार्य सकिए पनि आफन्तले लास नबुझिदिँदा शवको दाहसंस्कार हुन सकेको छैन । जिल्ला अस्पतालको शवगृहमा शव राख्न चिस्यान नहुँदा शवहरु गल्दै गएका उनले जानकारी दिए ।