भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु


जाजरकोट । शुक्रबार रातिको भुइँचालोमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ। सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए। उनका अनुसार घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै सिंहको मृत्यु भएको हो। उपमेयर सिंहका काका जय सिंहले पनि भुइँचालोमा परेर उनको मृत्यु भएको पुष्टि गरे। त्यस्तै, नलगाड नगरपालिकाका सूचना प्रविधि अधिकृत जुना शाहीले पनि उपमेयर सिंहको मृत्यु भएको बताइन्।

नलगाड नगरपालिका-८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन्। पश्चिम नेपालमा शुक्रबार राति आएको ६।४ म्याग्निच्युडको भुइँचालोले अहिलेसम्म कम्तिमा ३६ जनाको ज्यान गएको पुष्टि भएको छ। रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रूकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ। त्यस्तै, जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ। हामीलाई प्राप्त पछिल्लो विवरणअनुसार जाजरकोटको कुशे गाउँपालिका(७ धनरासेमा घरहरू भत्किँदा ७ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए।