कर्मचारीहरुले कुलमान घिसिङलाई कार्यालयमा पस्न नदिने

कर्मचारीहरुले कुलमान घिसिङलाई कार्यालयमा पस्न नदिने


काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका आन्दोलनरत कर्मचारीहरुले आज कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् ।

७ बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आज, भोलि र पर्सि तीन दिन कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालय प्रमुखहरुलाई समेत कार्यकक्षमा प्रवेश निषेध गर्ने निर्णय गरेका हुन् ।

आज कात्तिक १९ गते ११ः१५ बजेदेखि १२ः१५ बजेसम्म, भोलि कात्तिक २० गते ११ः१५ बजेदेखि १२ः४५ बजेसम्म र पर्सि ११ः१५ बजेदेखि १ः१५ बजेसम्म कार्यकक्ष प्रवेश निषेध गर्ने कर्मचारीहरुले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रममा उल्लेख छ ।

नेपाल विद्युत प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरुले संस्थागत उन्नती र कर्मचारीको हक हितका लागि भन्दै यही कात्तिक १२ गते पहिलो र कात्तिक १४ गते दोस्रो पटक सात बुँदे सहित ३ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।

यो कार्यक्रमबाट पनि माग सुनुवाइ नभए कात्तिक २२ गतेदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उनीहरुले जनाएका छन् ।