५१ दिनदेखि सम्पर्कविहीन रहेका टेलिकमका अधिकृतको अबस्था अझै अज्ञात

५१ दिनदेखि सम्पर्कविहीन रहेका टेलिकमका अधिकृतको अबस्था अझै अज्ञात


विराटनगर ।

नेपाल टेलिकमका अधिकृत ५१ दिनदेखि सम्पर्कविहीन भएका छन् ।

झापास्थित सुरुङ्गा शाखाका लेखा अधिकृत ३१ वर्षीय दिलिप सुवेदी ५१ दिनदेखि बेपत्ता भएका हुन् ।

झापाको कन्काई नगरपालिका–३ स्थित कार्यालयको क्वाटरबाट ३० भदौदेखि बेपत्ता भएकाउनी अझै फेला नपरेको बुबा नेत्रप्रसादले बताए ।

खोटाङको हलेसी–तुवाचुङ नगरपालिका स्थायी ठेगाना भएका उनी विराटनगर महानगरपालिका–४ राजवंशी चोकमा बस्दै आएका थिए । उनको परिवारले विराटनगरमा पत्रकार सम्मेलन गर्दै खोजीका लागि सहयोग मागेका छन् ।

दाजु लक्ष्मीप्रसादले हराएको लामो समयसम्म भाइको अत्तोपत्तो नभएको बाताए । दिलिप भदौ ३० गते बिहान ६ः३० बजेतिर कार्यालयकै सुरक्षागार्ड ओमप्रकाश खरेलसँग चिया खान स्कुटरमा निस्किएका थिए ।

‘चिया पिएर दुवै जना करिब ७ बजे कार्यालयमा आएको भनिएको छ । त्यसपछि कार्यालयकै माथिल्लो तलाको ‘गेस्ट हाउस’मा आराम गर्छु भनेर भाइ गएकोसम्म जानकारी भयो’, लक्ष्मीप्रसाद भन्छन्, ‘त्यहाँबाट म आफ्नै ड्युटीतिर लागें भनेर सुरक्षागार्डले भनेका छन् । बिहान करिब २७ मिनेटजति बुहारी ९दिलिपकी पत्नी० बजुना भट्टराईसँग मोबाइलबाट भिडियो कलमा कुराकानी भएको देखिन्छ ।’ त्यसपछि मोबाइल ‘अफ’ रहेको उनले बताए ।

उनका अनुसार भाइले चलाउने स्कुटर कार्यालयभित्रै छ । चाबी, चस्मा, पर्स, एटीएम कार्ड, चप्पल, कपडालगायत कोठाभित्रै भेटिएको थियो । कार्यालयबाटै हराएको उल्लेख गर्दै उनले अहिलेसम्म नभेटिनुले घटना रहस्यमय र शंकास्पद रहेको बताए ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बेपत्ता सुवेदीको खोजी भइरहेको बताए । तर अहिलेसम्म अवस्था पत्ता नलागेको बताए । प्रहरीको विशेष टोली नै दिलिपको खोजीमा केन्द्रित गरेको उनले बताए ।