प्रदेश सरकार र भरतपुर महानगरले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने

प्रदेश सरकार र भरतपुर महानगरले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने


भरतपुर ।

चितवनमा अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कार्य पुनः सुरु हुने भएको छ।

मंगलबार हेटौंडामा बसेको बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिका बीचको बैठकले उक्त रंगशाला निर्माणका लागि लगानी गर्ने सहमति भएको महानगरको पूर्वाधार विकास महाशाखाका प्रमुख सन्तोष आचार्यले जानकारी दिए।

प्रदेश सरकारको ७० प्रतिशत र भरतपुर महानगरपालिकाको ३० प्रतिशत आर्थिक सहयोगमा निर्माण प्रक्रिया सुरु गर्न लागिएको छ ।

अहिले खेल हेर्न ठाउँ र खेल्ने पिच निर्माणका लागि ७० करोड लाग्ने अनुमान रहेको छ ।

गत चैतमा सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर काम अगाडि बढाउने निर्णय गरेको थियो ।

२०७८ सालको साउनको २३ गतेदेखि यहाँ निर्माणको काम भएको छैन। निर्माणको क्रममा उधारोमा खरिद गरिएका सामग्रीको रकम तिर्न नसकेपछि धुर्मुस–सुन्तली फाउण्डेशन रंगशाला निर्माणबाट पछि हटेको थियो।

फाउण्डेशनले रंगशालाको स्वामित्व महानगरलाई हस्तान्तरण गरे पनि यसको बाँकी निर्माण कार्य कसरी अघि बढाउने भन्ने निर्क्यौल हुन सकेको थिएन।

रंगशालाका लागि बागमती प्रदेश सरकारले ३० करोड, भरतपुर महानगरपालिकाले १६ करोड ७५ लाख, जिल्ला समन्वय समितिले २ करोड २२ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए।