२ महिनामा संसद् भवनकाे काम सक्न सभामुखकाे निर्देशन

२ महिनामा संसद् भवनकाे काम सक्न सभामुखकाे निर्देशन


काठमाडौँ ।

सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवन आगामी हिउँदे अधिवेशनबाटै सञ्चालनमा ल्याउने गरी काम पूरा गर्न निर्देशन दिएका छन्।

निर्माणाधीन भवनमा जडान गर्न लागिएकाे साउन्ड सिस्टमसहित बहुप्राविधिक उपकरण र गुणस्तरबारे उत्पादन कम्पनीसँग जानकारी लिँदै उनले आगामी २ महिनाभित्रै भवन निर्माण र उपकरण जडानको काम पूरा गर्न सुझाव दिए।

‘हामीले सबै भवन नसके पनि मुख्य भवनलाई सकेर राष्ट्रिय र प्रतिनिधिसभाका मुख्य हलहरू प्रविधिहरू राखेर काम गर्न मिल्ने २ महिनाभित्र गर्न सकिन्छ कि सकिँदैन् ? किनभने २ महिनापछि हिउँदे सत्र हामी त्यहीँ गर्ने सोचमा छौैँ,’ उनले भने, ‘हाम्रो लक्ष्य भनेको त्यही हो । त्यो पूरा गर्ने तपाईहरुको तयारी हुन सक्छ कि सक्दैन, सबै कुरा मिलाएर छलफल हुनुपर्छ।’

सभामुख घिमिरेले आवश्यकताअनुसार नवीनतम प्रविधिको प्रयोग र जोखिम निराकरणसम्बन्धी विषयमा विशेष ध्यान पुर्‍याउन सचिवालयका पदाधिकारी र कर्मचारीलाई निर्देशन दिए।

सहरी विकासमन्त्री सीता गुरुङले संघीय संसद् भवन निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएर अघि बढाइरहेको जानकारी दिइन्। भवन र उपकरण जडानलाई द्रुततासँगै गुणस्तरको प्रश्नलाई पनि त्यतिकै हेक्कामा राख्न आवश्यक रहेको उनले बताइन् ।