स्वास्थ्य उपचार सेवा सञ्चालन गर्न पाटन अस्पताललाई प्रहरीको अपिल

स्वास्थ्य उपचार सेवा सञ्चालन गर्न पाटन अस्पताललाई प्रहरीको अपिल


काठमाडौं ।

जिल्ला प्रहरी परिसर ललितपुरले पाटन अस्पताल प्रशासन, चिकित्सकहरू र सरोकारवालाहरूलाई अत्यावश्यक स्वास्थ्य उपचारको सेवा सञ्चालन गर्न अपिल गरेको छ।

मंगलबार साँझ परिसरका प्रवक्‍ता एवं एसपी नवराज कार्कीले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य उपचारको अत्यावश्यक सेवा सञ्चालन गर्न अपिल गरेका हुन्।

शनिबार पाटन अस्पतालमा जेष्ठ नागरिक वार्डमा रहेका कृष्णबहादुर नगरकोटी र जनमाया राईको मृत्यु भएको थियो।

निमोनियाका बिरामी उनीहरूलाई एन्टिबायोटिक औषधि सुईमार्फत् दिएको पाँच मिनेटभित्रै दुबैको मृत्यु भएको भन्ने आफन्तको आरोप छ। उनीहरूको मृत्यु भएपछि आफन्तले पाटन अस्पतालका चिकित्सकहरूमाथि हातपात एवं अभद्र व्यवहार गरेका थिए।

त्यसरी हातपात गरेको भन्दै चिकित्सकहरू आकस्मिकबाहेक सबै सेवाहरू ठप्प पार्दै आन्दोलनमा छन्।

यस घटनाबारे सोमबार पाटन अस्पतालले पत्राचार गरेपछि प्रमाण संकलन गरी अनुसन्धान अघि बढाएको एसपी कार्कीले बताए।

‘यस परिसरबाट कानुनबमोजिम अनुसन्धान भइरहेको विषयमा अनुसन्धानमा सहयोग गर्दै जिम्मेवारीका साथ अत्यावश्यक सेवा सुचारू गर्न अस्पताल प्रशासन, चिकित्सकहरू र सम्बन्धित सरोकारवाला सबैमा जिल्ला प्रहरी परिसर ललितपुर हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।