फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न सिद्धार्थनगरको टोली भारततर्फ

फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न सिद्धार्थनगरको टोली भारततर्फ


लुम्बिनी ।

फोहोरमैलाको दीर्घकालीन व्यवस्थापनको विषयमा अध्ययन/अवलोकनका लागि सिद्धार्थनगर नगरपालिकाको टोली भारततर्फ प्रस्थान गरेको छ ।

नगर प्रमुख इश्तियाक अहमद खाँको नेतृत्वमा उपप्रमुख उमा अधिकारी, वडाध्यक्ष र प्राविधिकसहितको टोली नगरको फोहोरमैलाको दीर्घकालीन व्यवस्थापनका लागि अध्ययन, अवलोकन, नवीनतम अभ्यास, सिकाइ र सिकाइको उपलब्धिका लागि भारतको चण्डीगढतर्फ प्रस्थान गरेको हो ।

त्यहाँ रहेको आविस्कार केन्द्र, फोहोरमैलाको उचित व्यवस्थापन गर्ने मेसिनरी साम्रगी, प्रयोगको अवस्थालगायत विषयमा अध्ययन/अवलोकनका लागि टोली भारत प्रस्थान गरेको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

दशकौँदेखि यहाँको फोहोरमैला दीर्घकालीन रूपमा उचित व्यवस्थापन हुन सकेको छैन । ‘नगर प्रमुख निर्वाचित भएदेखि नै नगरको फोहोरमैलाको दीर्घकालीन व्यवस्थापनका लागि गम्भीर हुनुहुन्छ,’ नगर प्रमुखका स्वकीय सचिव इन्जिनियर बरकत बादशाह शेषले भने, ‘तर, नगरमा एकै स्थानमा बढी क्षेत्रफलमा सार्वजनिक जग्गा अभावका कारण ठुलो योजना सञ्चालन गर्न समस्या छ ।’

हालको भ्रमणमा थोरै क्षेत्रफलमा सानो मेसिनमार्फत उचित व्यवस्थापन हुन सक्ने देखिएमा प्रक्रिया अघि बढाउन सक्ने सम्भावना रहेको उनले बताए ।

उनले फोहोरमैलाको दीर्घकालीन व्यवस्थापनका लागि विभिन्न निकायसँग पटक पटक छलफल भएको र एसियाली विकास बैंक (एडिबी) समक्ष लगेको प्रस्तावमा एडिबी योजना सञ्चालनका लागि तयार रहे पनि जग्गा अभावकै कारण योजना सञ्चालन गर्न नसकिएको बताए ।

केही समयअघि सिद्धार्थनगरले अन्य दुई पालिकासँग पनि संयुक्त रूपमा फोहोरमैला व्यवस्थापनका लागि छलफल गरेर प्रस्ताव अघि सारे पनि सार्वजनिक जग्गा पर्याप्त भएको पालिका सम्झौता गर्नबाट पछि हटेको थियो ।

सोही पालिकाको जग्गामा योजना सञ्चालन गर्ने गरी जग्गाको नापजाँच समेत गरी तयारी भएको थियो । तर, उक्त पालिका सम्झौताबाट पछि हट्दा योजना सञ्चालन हुन सकेन ।

त्यसपछि पनि नगरपालिकाको कार्यालयले विभिन्न निकायसँग छलफल जारी राखेको छ । सोही अनुरुप फोहोरमैलाको दीर्घकालीन र उचित व्यवस्थापनका लागि कार्यालयको टोली भारततर्फ लागेको छ ।