बेपत्ता भएका ५ जना किशोरी ढल्केबरमा भेटिए

बेपत्ता भएका ५ जना किशोरी ढल्केबरमा भेटिए


जनकपुरधाम ।

महोत्तरीबाट गत मंगलबारदेखि वेपत्ता भएका ५ जना किशोरीहरु आज बिहान फेला परेका छन् ।

उनीहरु बिहीबार बिहान धनुषाको ढल्केबरमा फेला परेका हुन् ।

बाहिर जान लागेका बेला स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएका छन् । अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ । अभिभावक बोलाएर जिम्मा लगाइने प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए ।

महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा गत मंगलबारदेखि परिवारका सदस्यहरुको सम्पर्कमा थिएनन् ।

गत मंगलबार दिउँसो साढे ११ बजेदेखि उनीहरु एकैसाथ घरबाट निस्केको तर फर्केर नआएको बताइएको छ ।