जिप दुर्घटनामा परी गम्भीर घाइते भएका २ जनाको मृत्यु

जिप दुर्घटनामा परी गम्भीर घाइते भएका २ जनाको मृत्यु


रुकुमपश्चिम ।

रुकुमपश्चिममा जिप दुर्घनामा परी गम्भीर घाइते भएका २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय  मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का ७ वर्षीय बालक प्रतीक बुढा छन् ।  बालक बुढाको उपचारका लागि एम्बुलेन्समार्फत् सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीले जानकारी दिए ।

उनका अनुसार अन्य ५ जनाको पनि अवस्था गम्भीर रहेकाले गृह मन्त्रालयसँग समन्वय गरेर काठमाडौँबाट हेलिकोप्टर आउन लागेको र सोही हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडाैँ पठाउने तयारी भइरहेको नगर प्रमुख वादीले जानकारी दिए ।

आज बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदुरमुकाम खलंगा आउने क्रममा चौरजहारी–८ गैरीजिउलामा लु१ज २२९७ नम्बरको जिप दुर्घनामा परेको थियो । जिपमा सवार चालकसहित २२ जना घाइते भएका थिए ।

जिप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो । घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ ।

जिपमा क्षमताभन्दा बढी यात्रु चढाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले आकलन गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।