किसानको सारथी बन्दै सहकारी, कृषि व्यवस्थापन देखि किसान पुरस्कृत गर्दै

किसानको सारथी बन्दै सहकारी, कृषि व्यवस्थापन देखि किसान पुरस्कृत गर्दै


स्याङ्जा ।
देशभरका केहि सहकारीमा समस्या उत्पन्न भएर बचतकर्ताको रकम डुबेको खबर आईरहेको बेला स्याङ्जाको एक सहकारी संस्था भने स्थानीय किसानको सारथी बन्दै आएको छ ।

सहकारीले कृषिमा व्यवसायीकरण, सामाजिक सामुदायिक कार्यक्रम र क्षमता विकासमा काम गर्दै आउँदा किसानको सारथी बनेको हो ।

जिल्लाको अर्जुनचौपारी गाउँपालिकास्थित ग्रामिण स्वावलम्बन साना किसान कृषि सहकारी संस्थाले कृषिमा व्यवसायीकरण गर्न कम्तिमा २० बाख्रा पालन गर्ने किसानलाई पशु बीमा गराएर खोर व्यवस्थापनामा ५ हजार नगद अनुदान दिदै आएको छ ।

तरकारी तथा फलफूल र मासुजन्य वस्तु उत्पादन गरेमा बजारीकरणको सुनिश्चिततासँगै किसान पुरस्कृत गर्ने कार्यक्रम गर्दै आएको छ ।

गाउँपालिकाभित्र २ हजार ५ सय शेयर सदस्य रहेको सहकारीले झण्डै ४ हजार ५ सय किसानलाई सेवा प्रबाह गर्दै आएको छ । कृषिमा आत्मनिर्भर बन्नका लागि भकारो सुधार, पशु नश्ल सुधार कार्यक्रम अन्र्तगत उन्नत जातका बोका र रागाँ व्यवस्थापन गर्दै आएको सहकारीले जनाएको छ ।

२०५९ मा स्थापित सहकारीले ५० प्रतिशत मासुजन्य लगानीमा २ वटा भैंसी फार्म, ४ वटा बाख्रा फार्म र २ बंगुर फार्म संचालन गर्दै आएको छ । पछिल्लो आर्थिक वर्ष २०७९÷०८० मा सहकारीले शेयर सदस्यको २१ पशु क्षतिपूर्ति स्वरुप १ लाख ४५ हजार २ सय रकम उपलब्ध गराएको छ ।

सहकारीले सामाजिक सामुदायिक कार्यक्रममा पुँजी बृद्धि गर्न ऋणको ५ प्रतिशत रकम र ५ प्रतिशत ऋण सुरक्षण कोषको व्यवस्था गरेको छ । महिला सदस्य सुत्केरी हुँदा २ हजार सुत्केरी स्याहार खर्च, सुरक्षण कोष राखेको १ वर्ष पुगेका सदस्यको मृत्यु भएमा १५ हजार उपलब्ध गराउँदै आएको छ ।

जुन ३४ सदस्यले उपभोग गरेका छन् । कोरोनाको कारणले मृत्यु भएमा क्रिया खर्च वापत २५ हजार नगद उपलब्ध गराउँदै आएको सहकारीका अध्यक्ष बोध नारायण रेग्मीले बताए ।

शेयर सदस्यहरुको आवश्यकतालाई ध्यानमा राख्दै सहकारीले टोल सफाई अभियान, स्वास्थ्य शिविर, महिला शसक्तिकरण, घरेलु हिंसा न्यूनिकरण, सिप विकासको क्षेत्रमा काम गर्दै आएको सहकारीका अध्यक्ष रेग्मीले बताए । उनका अनुसार शेयर सदस्यको घरमा ९० वर्ष पुगेका बृद्धबृद्धालाई सम्मान कार्यक्रम संचालन गरिएको छ ।

सहकारीले शेयर सदस्यहरुको क्षमता विकासका लागि सुधारिएको चुलो, गोबर परिक्षण शिविर र तालिम संचालन गर्दै आएको सहकारीले जनाएको छ । सहुलियतपूर्ण ऋण उपलब्ध गराएर तरकारी, सुन्तला, कफि खेती, भैसी, बाख्रा र मौरी पालनमा लगानी गर्दै आएको छ । सामुदायिक विद्यालयमा शौचालय, खानेपानी र सिंचाई कुलो निर्माण समेत सहकारीले सहयोग गर्दै आएको छ ।

१ हजार ५ सय ३२ पुरुष र १ हजार ५ जना महिला शेयर सदस्य रहेको सहकारीले २६ करोड २७ लाख ४१ हजार २ सय २१ रुपैयाँको आर्थिक कारोबार गर्दै आएको सहकारीका प्रबन्धक शालिग्राम काफ्लेले बताए । कृषि, पशु पालनका साथै हामीले बचतको कारोबारले शेयर सदस्यको आर्थिक विकासमा काम गरिरहेको काफ्लेले बताए ।

२ करोड ५६ लाख ९४ हजार ५ सय ६० रुपैयाँको जगेडा कोष बनाएको सहकारीले १ करोड १३ लाख ४१ हजार ४ सय ७४ को पशु बीमा कोष र २० लाख ९७ हजार ९ सय २३ रुपौयाँ बराबरको शेयर सुरक्षण कोष बनाएको छ । करिब १ करोडको लागतमा ३ तलाको १८ कोठे व्यवसायिक भवन संचालन गर्दै आएको छ ।

पशुपालन, फलफूल तथा तरकारी खेती र बचत कारोबारमा सहकारी किसानको सारथी बन्दै आएको स्थानीयले बताए । सहकारी किसानको सारथी बन्दा स्थानीय महिलाहरु आयआर्जनमा जोडिएको यामबहादुर गुरुङ्ले बताए । सहकारीको समन्वयमा उत्पादित वस्तुको बजारीकरणले थप सहजता मिलेको उनले सुनाए ।