३ दिन बित्दा पनि भेटिएनन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार ८ कैदी

३ दिन बित्दा पनि भेटिएनन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार ८ कैदी


डोल्पा ।  जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दी तीन दिन बितिसक्दा समेत फेला पर्न सकेका छैनन् । शुक्रबार (कात्तिक १३ गते) राति कारागारको पक्की संरचना भत्काएर सेफ्टी ट्यांकी हुँदै फरार भएका उनीहरूको खोजीमा प्रहरीले सम्भावित क्षेत्रमा निगरानी बढाए पनि हालसम्म कुनै ठोस सुराक भेटिएको छैन ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख एवं डीएसपी अनिलराज गिरीका अनुसार अन्य छिमेकी जिल्लाका प्रहरी कार्यालयहरूसँग समेत समन्वय गरी खोजी कार्यलाई ‘व्यापक’ बनाइएको छ ।

कसरी भयो घटना ?

कारागार प्रशासक दीर्घराज आरसीका अनुसार कैदीबन्दीहरू सुत्ने कोठाको सिरानीपट्टिबाट सुरुङ खनेर नजिकै रहेको सेफ्टी ट्यांकी हुँदै बाहिरिएका हुन् । घटना भएको राति पानी परिरहेकाले सुरुमा सुरक्षाकर्मीले उनीहरू भागेको पत्तो पाउन सकेका थिएनन् । १०० जना क्षमता रहेको डोल्पा कारागारमा घटनाका बखत १७ जना मात्र कैदीबन्दी र उनीहरूको सुरक्षाका लागि १५ जना प्रहरी तैनाथ थिए । पर्याप्त सुरक्षाकर्मीको उपस्थिति हुँदाहुँदै लामो सुरुङ खनेर आठ कैदीबन्दी फरार भएपछि कारागारको सुरक्षा व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ ।

प्रहरीले हाल कारागारका सुरक्षाकर्मी तथा बाँकी कैदीबन्दीसँग बयान लिने, सीसीटीभी फुटेज अध्ययन गर्ने र सुरुङ खन्न प्रयोग गरिएका औजारबारे अनुसन्धान गरिरहेको छ ।