अमेरिकाबाट आए साढे ११ हजार पर्यटक, अन्य देशबाट कति ?

अमेरिकाबाट आए साढे ११ हजार पर्यटक, अन्य देशबाट कति ?


काठमाडौं ।

सन् २०२३ को ११ महिनामा ९ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि नोभेम्बरसम्म ९ लाख १८ हजार तीन सय आठ नेपाल आएका हुन् ।

नोभेम्बरमा मात्रै एक लाख आठ हजार छ सय ३० विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अघिल्लो महिना अक्टोबरमा हालसम्मकै बढी एक लाख १७ हजार तीन सय छ पर्यटक नेपाल भित्रिएका थिए । पर्यटक आगमनको पछिल्लो आँकडाले यो वर्ष सरकारको लक्ष्य पूरा हुने सङ्केत देखिएको छ ।

सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटक आगमन निरन्तर बढिरहेकाले लक्ष्यमा पुग्न सहज हुने उल्लेख गरे । उनले भने, ‘एघार महिनामा नौ लाख १८ हजार बढी पर्यटक आएका छन् । १० लाखको लक्ष्य करिब पुग्न लाग्यो ।’

पर्यटक आगमनको मुख्य स्रोतबजार छिमेकी मुलुक भारत, चीन तथा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, श्रीलङ्का, बङ्गलादेश रहेको बोर्डले जनाएको छ ।

नोभेम्बरमा कुल पर्यटक आगमनमध्ये २० प्रतिशत भारतबाट आएका छन् । सो अवधिमा भारतबाट हवाईमार्ग भएर २४ हजार चार सय ४३ जना पर्यटक नेपाल आएका छन् ।

संयुक्त राज्य अमेरिकाबाट ११ हजार ४ सय ६१ जना नेपाल आउँदै गर्दा अर्को छिमेकी मुलुक चीनबाट ७ हजार छ सय एक, बेलायतबाट ६ हजार एक सय ३८, अष्ट्रेलियाबाट ५ हजार ६०, थाइल्याण्डबाट ३ हजार सात सय ६१, जर्मनीबाट तीन हजार पाँच सय १२, श्रीलङ्काबाट तीन हजार दुई सय २८ र फ्रान्सबाट तीन हजार दुई सय पाँचजना पर्यटक भित्रिएका छन् ।