बंगलौरका १५ विद्यालयमा बम विस्फोट गराउने धम्की

बंगलौरका १५ विद्यालयमा बम विस्फोट गराउने धम्की


काठमाडौं ।

भारतको कर्नाटकको राजधानी बेंगलुरुका १५ वटा विद्यालयमा शक्तिशाली बम विस्फोट गराइदिने धम्कीयुक्त इमेल प्राप्त भएको छ ।

शुक्रबार बिहान बम विस्फोट गराउने धम्कीको इमेल प्राप्त भएसँगै विद्यार्थी, शिक्षक र अभिभावकहरूबीच त्रासको स्थिति सिर्जना भएको छ।

इमेलहरु झुटो हुनसक्ने प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको र विभिन्न कोणबाट अनुसन्धान भैरहेको जनाएको छ ।

सुरक्षाकर्मीहरुले सावधानीपूर्वक विद्यालय परिसरबाट विद्यार्थी र कर्मचारीहरूलाई बाहिर निकालेका छन् ।

एक वरिष्ठ प्रहरी अधिकारीले मिडियासँग कुरा गर्दै भने, ‘इमेलले विद्यालय परिसरमा विस्फोटक पदार्थ राखिएको दाबी गरेको छ । हामीले कमाण्ड सेन्टरबाट कल प्राप्त गर्यौं र तुरुन्तै हाम्रा टोलीहरूलाई सहरका विभिन्न भागहरूमा रहेका विद्यालयहरूमा लग्यौं । सबै विद्यार्थी र कर्मचारीहरूलाई विद्यालय परिसरबाट सुरक्षित रूपमा बाहिर निकालिएको छ र इमेल गर्नेहरुको व्यापक खोजी कार्य भइरहेको छ । अहिलेसम्म कुनै पनि शंकास्पद कुरा फेला परेको छैन र प्रारम्भिक दृष्टिले यो झुटो सन्देश हो जस्तो देखिन्छ । अभिभावकहरू आत्तिनु पर्दैन, हाम्रो टोली मैदानमा छ ।’

टेक हबका धेरै विद्यालयहरूले गत वर्ष पनि यस्तै होक्स कल र सन्देशहरू प्राप्त गरेका थिए । शहरको नेशनल पब्लिक स्कूलले यस वर्ष जनवरीमा बमबारीको धम्की प्राप्त गरेका थियो ।