गुल्मीमा स्कारपियो दुर्घटना : ६ जनाको मृत्यु, ३ घाइते

गुल्मीमा स्कारपियो दुर्घटना : ६ जनाको मृत्यु, ३ घाइते


गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। सोमबार दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोरअन्तर्गत दबौखानीमा सडकबाट करिब २५० मिटर तल खसेको हो।
दुर्घटनामा निता बगाले, स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिपकुमार बगाले, वालिङ–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे, सिता पाण्डे र कुलानन्द पाण्डेको मृत्यु भएको छ। निता बगालेको उपचारका क्रममा कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा मृत्यु भएको हो।
दुर्घटनामा गुल्मीको सिरकोटका छविलाल पाण्डे र गोमता पाण्डे तथा स्याङ्जाको वालिङ–१० का बालकृष्ण सुवेदी घाइते भएका छन्।   घाइतेमध्ये छविलालको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको छ। गोमताको सोही अस्पतालमा उपचार भइरहेको छ भने बालकृष्णलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा रेफर गरिएको छ।
दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।