घोडेपानीमा एक गिलास पानीको मूल्य १३० !

घोडेपानीमा एक गिलास पानीको मूल्य १३० !


म्याग्दी ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ स्थित प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीको पुन हिलमा पर्यटकलाई पिउने पानी लैजान बन्देज गरिएको छ ।

स्थानीय जनप्रतिनिधि र प्रशासनसँगको मिलेमतोमा व्यपारीहरुले पर्यटकले पानी लैजान नपाउने व्यवस्था गरी महँगोमा पानी किन्न लगाएर लुट मच्चाउने गरेको हो ।

पुनहिल पुगेका पर्यटकले त्यहाँ सञ्चालन भएको टिहाउसबाट महँगोमा पानी किनेर पिउनुपर्ने नियम बनाएको छ ।

पुनहिल जाँदा थर्मसमा आफै तातोपानी बोकेर लैजान नपाएको पर्यटकहरूले गुनासो गरेका छन् । घोडेपानीका स्थानीयहरूले पुनहिल सञ्चालन गर्दा बनाएको वर्षौँदेखिको नियमलाई अहिले गाउँपालिकाले पनि कायम राखेको छ ।

घोडेपानीदेखि करिब ४५ मिटरको पदयात्रापछि पुगिने तीन हजार दुई सय १० मिटरको उचाइमा रहेको पुनहिलको भ्रमणमा जाने आन्तरिक एवम् विदेशी पर्यटकले आफै तातोपानी बोकेर लैजान बन्देज गरिएको हो । कसैले पानी लिएर गएमा तीन हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

पानीको थर्मस, आगो बाल्ने ग्याँसलगायतका सामग्रीहरू लैजान नपाइने सूचना पुनहिल प्रवेश गर्ने प्रवेशद्वारमा टाँस गरिएको छ । पुनहिलमा सञ्चालन गरिएको टिहाउसबाट नै पानी किनेर पिउनुपर्दछ । एक गिलास तातोपानीको मूल्य १३० रुपैयाँ कायम गरिएको छ ।

सुन्दर ठाउँ भए पनि यहाँको नियम पर्यटकमैत्री लागेन पोखराबाट पुनहिलको भ्रमणमा आएका अनिल गुरुङले भने, ‘‘आफूलाई आवश्यक पर्ने तातोपानी आफैँ लैजान नपाइने नियम रहेछ । यो नियम पर्यटकमैत्री भएन,यो त सिन्डिकेट भयो । यहाँ बिहानीपख अत्यधिक चिसो भएकाले पर्यटकले थर्मसमा तातोपानी लिएर आउन पाउनुपर्दछ ।’’ पर्यटकमैत्री नभएको नियमलाई खारेज गर्न सरोकारवाला पक्षलाई उनले अनुरोध गरे । फेरि अर्को पटक पुनहिल आउँदा यो नियम बदलिएको होस् उनको भनाइ थियो ।

पर्यटकीय स्थलमा प्रवेश शुल्क लिन र कफीसफ तथा रेस्टुरेन्ट सञ्चालन गर्न एक वर्षका लागि अनुमतिसहित गाउँपालिकाले चालु आर्थिक वर्षमा ६३ लाख ११ हजार रुपैयाँमा आय ठेक्कामा लगाएको छ । पुन हिलमा प्रवेश गर्न आन्तरिक पर्यटकले पचास र विदेशी पर्यटकले एक सय पचास रुपैयाँ शुल्क गाउँपालिकाले कायम गरिदिए पनि पानी, चिया, कफीको शुल्क निर्धारण गरेको छैन ।

पर्यटकले पुन हिलमा पानी लगायतका सामग्री लैजान नपाउने नियम पहिलादेखि नै चलिआएको पुनहिल र टिहाउस सञ्चालनका लागि ठेक्कामा लिएका विरेन पुनले बताए ।

उनले भने, ‘‘प्रवेश शुल्क उठाउन र टिहाउस सञ्चालनका लागि हामीले गाउँपालिकालाई ठुलो रकम बुझाएका छौं । पर्यटकले आफैँले पानीलगायतका सामग्री लिएर आउँदा हाम्रो व्यापार नभएपछि कसरी पालिकालाई रकम बुझाउन सक्छौँ ? ।’’ यो विषयमा पालिकाले नै नियम बनाइदिए राम्रो हुने उनको भनाइ छ । चिसो ठाउँ छ बिहानै पानी बोकेर ल्याउनुपर्ने भएकाले पानी, चिया र कफीको मूल्य धेरै भएको उनको भनाइ छ । यहाँ चिया र कफीको किसिम अनुसार एक सय पचासदेखि दुई सय पचास रुपैयाँसम्म मूल्य निर्धारण गरिएको छ ।

यो वर्ष पर्यटक आगमनमा कमी भएकाले ठेक्कामा घाटा लाग्ने देखिएको छ सञ्चालक पुनले भने, ‘‘गाउँपालिकाले ठेक्काको रकम घटाउने, शुल्कमा कमी गर्ने र पर्यटकलाई पानी लैजान दिने नियम बनाउन हामी सकारात्मक छौँ ।’’ पर्यटकलाई सहज हुने गरी नियम बनाउन हामीलाई कुनै समस्या छैन उनले भने । गोरखापत्र