फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो

फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो


बुटवल ।

बुटवलको मिलनचोकदेखि सुख्खानगर जाने बाटो फराकिलो बन्ने भएको छ।

सडक क्षेत्रको हेभी इक्युपमेन्टको कार्यालयको पर्खाल र नजिकैका भवनहरू हटाएर सडक फराकिलो बनाउन सुरु गरिएको हो।

बुटवल उपमहानगरपालिकाले सो सडक फराकिलो बनाउनका लागि चालु आर्थिक वर्षमा ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेकामा निर्माण कम्पनीले २३ लाख ४५ हजार रुपैयाँमा काम सम्पन्न गर्ने गरी ठेक्का पाएको छ।

मिलन चोकबाट पूर्व सुख्खानगर जाने बाटोको चापअनुसार बाटो साँघुरो भएकाले बाटोको क्षेत्रमा रहेको थप ८ फिटसम्मको पर्खाल र सोही क्षेत्रभित्र पर्ने भवन हटाउन लागेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनले हेभी इक्विपमेन्ट कार्यालय र स्थानीयसमेतको सहमति र सुझावअनुसार सडक फराकिलो बनाउने काम अगाडि बढाएको बताए।

‘यो बाटोमा गाडीको चाप बढी भएको र सडक साँघुरो थियो, जसका कारण दुर्घटना हुने गरेको थियो,’ प्रमुख पाण्डेयले भने, ‘यो सडक फराकिलो भएपछि मिलनचोकको जाम पनि केही कम हुन्छ र सहज रूपमा गाडी आवतजावत गर्न सक्छन्।’