दुर्गमका दलित तथा एकल महिलालाई निःशुल्क सोलार प्यानल

दुर्गमका दलित तथा एकल महिलालाई निःशुल्क सोलार प्यानल


मुगु ।

खत्याड गाउँपालिकाभरिका एकल महिला र दलित परिवारलाई निःशुल्क रुपमा सोलार प्यानल उपलब्ध गराइएको छ ।

बिद्युतको कुनै पनि प्रसारण लाइनले नछोएको पश्चिम खत्याड गाउँपालिका भरिका ३ सय ३९ जना दलित र ८४ जना एकल महिला गरी ४ सय २३ घरलाई सौर्य पाता सेट बितरण गरिएको हो ।

‘ब्याक टु लाइफ जर्मन’ को आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण विकास केन्द्र (हेरेन्डेक मुगु) नामक गैरसरकारी संस्थाको सहजीकरणमा सोलार प्यानल बितरण गरिएको हो ।

एउटाको २५ हजार मूल्य पर्ने जनाइएको सोलार प्यानल सेट सबैको गरी १ करोड ५७ लाख ५ हजारभन्दा बढी रकम परेको हेरेन्डेक मुगुका प्रबन्धक नवराज रावतले बताए ।

बत्ती नहुँदा बालबच्चा पढाउन निकै समस्या पर्ने गरेको साथै सल्लाको दिवाले (झरो) बालेर काम चलाउनुपरेको अवस्थामा अब सोलार उपलब्ध भएपछि धेरै सहज हुने खत्याड गाउँपालिका ९ का जयधर्म लावडले बताए ।

वितरित सोलार प्यानल ५० वाट क्षमताबाट ५ वटा बत्ती बाल्न मिल्ने र मोबाइल फोन चार्ज समेत गर्न सकिने बताइएको छ ।

स्थानीय एकल महिला राजकला कार्कीले झरोको धुवाले समस्या हुने, कपडाहरु कालो हुने र सबैतिर फोहोर हुने गरेकोमा अब सोलारको प्रयोगले सजिलो हुने बताइन् ।

सोलार बत्ती र पाता खत्याड गाउँपालिका वडा न ४ हिगोटीमा रहेका १ सय १९, वडा ८ रिगामा २२ घर, सुकाढिक १८ घर, आमआम १६ घर, वडा न ९ नखर्जी १ सय ४ घर र वडा न ११ रातापानी, लुइ ६० घरधुरी गरी जम्मा ३ सय ३९ दलित परिवारलाई वितरण गरिएको छ ।

यस्तै, एकल महिलातर्फ वडा १, २, ४, ५, ८, ९, ११ का क्रमशः ११, १९, १४, ७, १७, ९ गरी जम्मा ८४ जनालाई सोलारपाता सेट दिइएको हेरेन्डेक नेपाल मुगुका सहायक प्रवन्धक विष्णु रावतले बताए ।