टिपरको ठक्करबाट मृत्यु भएकाको परिवारलाई ६ लाखका दरले राहत दिने सहमति

टिपरको ठक्करबाट मृत्यु भएकाको परिवारलाई ६ लाखका दरले राहत दिने सहमति


दाङ ।

टिपरले मोटरसाइकललाई ठक्‍कर दिँदा मृत्यु भएका दुई जनालाई राहत दिने सहमति भएको छ।

टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार सवार प्यूठानका दुई किशोरको मृत्यु भएको थियो।

आइतबार बिहान जिल्ला प्रशासन कार्यालय दाङमा पीडित पक्ष र ट्रक समितिबीच भएको छलफलमा मृतक दुई किशोरका आफन्तलाई राहत दिने सहमति भएको हो।

मृतकका परिवारलाई जनही ६ लाख रुपैयाँ राहत सहयोग गर्ने सहमति भएको छ। साथै नयाँ मोटरसाइकल उपलब्ध गराउने र शवलाई प्युठानस्थित घरसम्म पुर्‍याइदिने सहमति भएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले बताए।

‘सहमतिपछि हामी वार्ता स्थलबाट निस्किसक्यौं,’ उनले भने, ‘शव प्यूठान लैजाने तयारी छ।’

झिमरुक गाउँपालिका वडा नम्बर ४ बाङ्गेका १७ वर्षीय विशाल जिसी र नौंबहिनी गाउँपालिका वडा नम्बर ६ लुङका १८ वर्षीय सागर केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको थियो।

तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ क १३०७ नम्बरको टिपरले रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा शुक्रबार राति १०:२० बजे ठक्कर दिएको थियो।

गाउँपालिकाका उपाध्यक्ष पोखरेलले आफूहरूले उचित राहत र न्यायको माग गर्दै शनिबार बेलुका दाङ आएर प्रहरी प्रशासन र ट्रक धनीसँग छलफल गर्न खोजेको बताए। तर बेवास्ता गरेपछि आइतबार बिहानैदेखि सडक बन्द गरिएको उनको भनाइ छ।

‘सुरूमै पीडित पक्षको आवाज सुनेको भए र बेवास्ता नगरेको भए आन्दोलन गर्नुपर्ने अवस्था आउने थिएन,’ उपाध्यक्ष पोखरेलले भने, ‘पीडितको आवाज कसैले नसुनेपछि बिहान सात बजेदेखि घोराहीस्थित तुलसीपुर चोकमा यातायात अवरुद्ध गर्न हामी बाध्य भयौं।’

करिब एक घन्टा यातायात अवरूद्ध पार्ने क्रममा प्रहरीले आफूहरूलाई जबरजस्ती उठाएर लगेको उनको भनाइ छ।