सिँचाइको विद्युत् महसुल नगरपालिकाले बेहोर्ने

सिँचाइको विद्युत् महसुल नगरपालिकाले बेहोर्ने


सिराह ।

सिँचाइका लागि प्रयोग हुने विद्युत्को महसु स्थानीय तहले बेहोर्ने भएपछि यहाँका किसान खुसी भएका छन् ।

यहाँको खडक नगरपालिकाले किसानले खेती सिँचाइका लागि प्रयोग हुने विद्युत् महसुल बेहोर्ने निर्णय गरेपछि किसान खुसी भएको नगरप्रमुख जयप्रकाश चौधरीको भनाइ छ ।

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरूप कृषि सिँचाइ मिटरको बिल नगरपालिकाले भुक्तानी गर्न लागिएको उनको भनाइ छ ।

नगरप्रमुख चौधरीले किसानलाई प्रोत्साहन गर्न तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्देश्यले ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ अन्तर्गत उक्त निर्णय गरिएको बताए ।

“अहिलेसम्म कृषि सिँचाइको विद्युत् महसुल आफैले तिर्दै आएका थियौँ”, वडा नं १० फूलबरीयाका किसान अशोक यादवले भने, “अब नगरपालिकाले नै महसुल तिरिदिने भएपछि खेतीको लागत कम हुनेछ ।”

वडा नं १ सिस्वाका किसान मञ्जिलादेवी मण्डलले नगरपालिकाको उक्त निर्णयले आफूहरुलाई सहज भएको बताए । “समयमै वर्षा नहुँदा सिँचाइका लागि डिजेलपम्प चलाउँदा खर्च बढी हुन्थ्यो”, उनले भने, “सिँचाइका लागि विद्युत् निःशुल्क उपभोग गर्न पाउने भएपछि खर्च कम हुनेभएका छ ।”

खडक नगरपालिकाले सुरु गरको ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ स्थानीय सरकारले सञ्चालन गरेको योजनामध्ये नमुना भएको वडा नं ११ का सूर्यनारायण रामको भनाइ छ ।

खडक नगरकार्यपालिकाको गत मङ्सिर २६ गतेको बैठकले नगरपालिकाभित्रका सम्पूर्ण सडक बत्ती तथा कृषि सिँचाइ मिटरको बिल आगामी माघदेखि नगरपालिकाले भुक्तानी गर्ने निर्णय गरेको थियो ।

पुस मसान्तसम्मको महसुल किसान आफैँले भुक्तानी गर्ने र आगामी माघदेखिको महसुल नगरपालिकाले तिर्ने निर्णय भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रसाद चौधरीले जानकारी दिए । “सिँचाइमा दिइने अनुदानले उत्पादन बढ्ने र किसानको आर्थिक अवस्थामा पनि सुधार आउने विश्वास लिएका छौँ”, उनले भने, “कृषि क्षेत्रको विकास र विस्तारका लागि नगरपालिकाले ठोस् योजनासहित अघि बढेको छ ।”