जंगली हात्तीको आक्रमणबाट ३ जनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट ३ जनाको मृत्यु


झापा ।

१ महिनामा जिल्लामा जंगली हात्तीको आक्रमणबाट ३ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा २ जना कर्मचारी छन् भने १ जना सर्वसाधारणको रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ।

कार्यालयका प्रमुख मेघराज राईका अनुसार जलथल वनबाट निस्कने जंगली हात्तीको आक्रमणमा हल्दीबारी गाउँपालिकाका २ जना र दमक नगरपालिकाका १ जनाको मृत्यु भएको हो। आज बिहान पनि वडा नं २ का कार्यालय सहयोगी स्थानीय ५८ वर्षीय पाताल राजवंशीको मृत्यु भएको छ।

बिहान मर्निङ वाकमा हिँड्ने क्रममा सोही वडाको पारोखापीमा उनलाई हात्तीले कुल्चेर मारेको हो।

यसैगरी, मंसिर १५ गते हल्दीबारी गाउँपालिका– ३ स्थित रणकाली सामुदायिक वनका चौकीदार धनबहादुर वन हात्तीको आक्रमणबाट मृत्यु भएको थियो।

त्यसअघि मंसिर ६ गते दमक नगरपालिका–२ स्थित बेलडाँगी शिविरका पदमलाल तामाङको पनि हात्तीको आक्रमणमा मृत्यु भएको डिभिजन वन कार्यालयका प्रमुख राईले जानकारी दिए। उनका अनुसार सो अवधिमा २ वटा हात्ती पनि मरेका छन्।

डेढ महिनायता झापालगायत मोरङ र सुनसरी जिल्लामा जंगली हात्तीको बिगबिगी बढेको छ। भारतबाट बाहुनडाँगी नाका हुँदै नेपाल प्रवेश गरेका ३६ वटा जंगली हात्ती नफर्किएका कारण ३ जिल्लामा त्रासदी फैलिएकाे छ ।