धारामा पानी नआउने तर बिल आउने समस्या अन्त्य गर्नुस् : प्रधानमन्त्री

धारामा पानी नआउने तर बिल आउने समस्या अन्त्य गर्नुस् : प्रधानमन्त्री


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले धारामा पानी नआउने तर बिल आउने समस्याबाट धेरै उपभोक्ताहरू दिक्दार भएकाले त्यस्तो समस्या तुरून्त हल गर्न निर्देशन दिएका छन्।

आइतबार बिहान सिंहदरबारमा आयोजित खानेपानी मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त छलफललाई निर्देशित गर्दै प्रधानमन्त्रीले पानी नआउने उपभोक्ताको बिल मिनाहा गर्न निर्देशन दिएका हुन्।

उनले भने, ‘धारामा पानी नआउने तर बिल चाहिँ आइरहने समस्या के हो? यसबाट उपभोक्ताहरू दिक्दार छन्। त्यसैले कहाँ–कहाँ त्यस्तो समस्या छ, जहाँको धारामा पानी आउँदैन, त्यो बिल मिनाहा गर्ने व्यवस्था मिलाउनुस् र आगामी दिनमा त्यस्तो समस्या आउन नदिन योजनावद्ध रूपमा काम गर्नुस्।’

मेलम्चीको काम तीव्रतामा नै भइरहेको आफूले बुझेको उनको भनाइ छ। उनले १७ करोड लिटर पानी एक महिनाभित्र सुन्दरीजलमा पुर्‍याउने योजनासहित सहित २८ दिनको कम्प्याक्ट कार्ययोजना निर्माण भई अहिले दुईसिफ्टमा काम भइरहेको उनले जानकारी दिए।

उनले भने, ‘काठमाडौं उपत्यकामा अहिले दैनिक २५ करोड लिटरको खानेपानी माग छ। हामीले मेलम्ची बाहेकका अन्य स्रोतको पनि पहिचान गरी कार्य गर्नुछ। अहिले मकवानपुरस्थित सिस्नेरी खोलाबाट ११ करोड लिटर पानी काठमाडौँ उपत्यकामा पथान्तरण गर्नका लागि सम्भाव्यता अध्ययन भइरहेको छ। यस कार्यलाई पनि मन्त्रालले तीव्र्रता दिनुहुनेछ।’

पहाडी तथा हिमाली क्षेत्रहरुमा महिलाहरूले घरदेखि टाढाबाट गाग्रीमा पानी बोकेर ल्याउनुपर्ने अवस्था रहेको र यसबाट महिलाहरूमा आङ खस्ने समस्या देखिएकोमा यसलाई सम्बोधन गर्न प्रस्ताव ल्याउनसमेत प्रधानमन्त्री प्रचण्डले अनुरोध गरेका छन्।

बैठकमा खानेपानी मन्त्री महेन्द्र राय यादवले खानेपानी आयोजनाहरूमा संरचनागत सुधार जरूरी रहेको बताउँदै सार्वजनिक खरिद नियमावलीको सरलीकरण, कानुनी समस्याहरूको सम्बोधन गरी खानेपानी आयोजना निर्माणमा लगानी गर्न इच्छुक अन्तर्राष्ट्रिय समुदायलाई आकर्षित गर्नुपर्ने बताए।

उनले चुरेमा रिजर्भ ट्यांकी बनाएर चुरे क्षेत्रको रिचार्ज गर्नुपर्ने बताउँदै काठमाडौंमा रहेका ढुंगेधाराबाट खेर गइरहेको खानेपानीको सदुपयोग गर्नुपर्नेमा जोड दिए। त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राजनीतिक दबाबमा निर्माण गरिएका विमानस्थलहरू कामयावी हुन नसकेको बताउँदै आगामी दिनमा आवश्यकताका आधारमा मात्रै विमानस्थल निर्माण गर्नुपर्ने बताए।