स्याङ्जाका एक कृषकले बेचे ६० लाखको सुन्तला

स्याङ्जाका एक कृषकले बेचे ६० लाखको सुन्तला


स्याङ्जा ।

स्याङ्जाका एक कृषकले यही वर्ष (चालु सिजन) मै झन्डै ६० लाखको सुन्तला बिक्री गरेका छन् । अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका जिल्लाकै अगुवा कृषक ६४ वर्षीय फणीनारयाण अर्यालले आफ्नै बगानको सुन्तला बिक्री गरेर करिब ६० लाख आम्दानी गरेका हुन् ।

सिँचाइ सुविधा भएको धानखेत मासेर त्रिपुत्र वागबानी फार्ममार्फत् सुन्तला खेती गर्दै आएका कृषक अर्यालले गत वर्ष मात्रै करिब ६५ लाख रुपैयाँको सुन्तला बिक्री गरेका थिए । ८० रोपनी जग्गामा २२ सय सुन्तलाका बिरुवा लगाएका अर्यालले उत्पादन घटेका कारण यो वर्ष झन्डै ६० लाखको सुन्तला बिक्री गरेका हुन् ।

७० मेट्रिक टन सुन्तला उत्पादन भएको बगैँचाबाट प्रतिकिलो ८५ रुपैयाँमा सुन्तला बिक्री गरेको कृषक अर्यालले जानकारी दिए । उनका अनुसार गत वर्ष ८५ मेट्रिक टन सुन्तला उत्पादन गरेर प्रतिकिलो ७५ रुपैयाँमा बिक्री गर्दा झन्डै ६५ लाख आम्दानी भएको थियो । गत वर्षको तुलनामा यस वर्ष १५ मेट्रिक टन सुन्तला उत्पादन घटेको उनले सुनाए ।

५० को दशकमा हुँदाखाँदाको वकिल (कानुन व्यवसायी) पेसा छाडेर सुन्तला खेतीमा लागेका अर्यालले मनग्य आम्दानी गरेर जिल्लामै उदाहरणीय बनेका छन् । २०३६ सालबाटै सुन्तला लगाउन थालेका अर्यालले २०५५ देखि मात्रै व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका छन् ।

‘झन्डै ५० लाखको लागतमा ग्रेडिङ (वर्गीकरण गर्ने) मेसिन जडान गरेर सुन्तलाको मूल्यअनुसार ठुला र साना छुट्ट्याएर बेच्ने गरेको छु,’ कृषक अर्यालले भने, ‘विगतमा पोखरा, काठमाडौँ, चितवन र बुटवलमा पुगेर सुन्तला बिक्री गर्दै आएको थिएँ ।’ पछिल्लो समय भने भाटभटेनी सुपर मार्केटमार्फत सुन्तला बिक्री गदै आएको उनले बताए ।

बगैँचाको हेरचाह गर्न नियमित ५ जनालाई रोजगारी दिएका अर्यालले सुन्तला पाक्ने समय (मंसिर, पुस र माघ) महिनामा झन्डै ४५ जनालाई रोजगारी दिन्छन् । बगैँचाको रेखदेख, गोडमेल र मलको व्यवस्थापन गर्दैमा वर्षभरिमा झन्डै २५ लाख लगानी हुने गरेको अर्यालले जनाए ।

पुस लागेपछि मात्रै आफ्नो बगैँचाको सुन्तला बिक्री गर्दै आएका अर्यालले सुन्तला पाक्ने समयमा स्थानीय गाउँबाट झन्डै ४ करोड बराबरको सुन्तला खरिद बिक्री गर्दै आएका छन् । सुन्तलाको दानाअनुसार प्रतिकिलो ५० देखि ६० रुपैयाँमा सुन्तला खरिद गरेर उनले टिपेर, वर्गीकरण र ढुवानी गरेर प्रतिकिलो ७० देखि ८५ रुपैयाँमा बिक्री गरेको बताए ।

५ छोरी ३ छोराका पिता अर्यालले सबै सन्तानलाई उच्च शिक्षासम्मको शिक्षा प्रदान गरेका छन् । सबै छोरीको विवाहदान भएको सुनाउँदै अर्यालले भने, ‘जेठो छोरा कृषि विषय (एजी) पढ्न अस्ट्रेलिया, माइलो छोरा डाक्टर (एमबिए) पढ्न अमेरिका र कान्छो छोरा इन्जिनियरिङ पढन भारत गएका छन् ।’ संयोग कस्तो भने तीनै जना छोराहरू छात्रवृत्तिमै अध्ययनका लागि विदेश गएका हुन् ।

गत वर्ष २२ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्लामा यो वर्ष भने उत्पादन घटेर १९ हजार ८७ मेट्रिक टनमा सीमित रहने अनुमान छ । गत वर्ष १ अर्ब ३८ करोड रुपैयाँको सुन्तला उत्पादन भएकोमा चालु वर्षमा १ अर्ब १४ करोड ५२ लाख रुपैयाँको सुन्तला उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको छ ।

यस वर्ष ४० प्रतिशत सुन्तला बिक्री भएको छ भने बाँकी ६० प्रतिशत सुन्तला बोटमै छन् । जिल्लामा सुन्तला उत्पादन क्षेत्र २२ सय हेक्टर छ । उत्पादनशील बगैँचाको क्षेत्रफल १ हजार ३२० हेक्टर छ भने ८८० हेक्टर जग्गामा बेर्ना बगैँचा छन् ।