भूकम्प कहर : चिसाेले कठ्यांग्रिएर सुत्केरीकाे मृत्यु

भूकम्प कहर : चिसाेले कठ्यांग्रिएर सुत्केरीकाे मृत्यु


काठमाडाैँ ।

जाजरकोटमा त्रिपालमुनि बास बसिरहेकी एक सुत्केरीको चिसाेले कठ्यांग्रिएर मृत्यु भएको छ ।

कुशे गाउँपालिका–९ चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको चिसाेका कारण मृत्यु भएको हो ।

जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि उनको परिवार त्रिपालमा बस्दै आएको थियो । कमजोर आर्थिक अवस्थाका कारण १७ मंसिरमा सुत्केरी भएकी उनलाई परिवारले उनलाई त्रिपालबाट सुरक्षित ओतमा सार्न सकेको थिएन ।

चिसोका कारण भएको संक्रमणको उपचार नपाएका कारण कल्पनाको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष देवीका शाहले बताइन् । ‘चिसोले उनको शरीर सुन्निएको थियो । उनी बिरामी थिइन् । परिवारले समयमा उपचार पनि गर्न सकेन,’ उपाध्यक्ष शाहले भनिन् ।

स्थानीयका अनुसार घरवास कार्यक्रमबाट सानो घर बनाएका उनको परिवार भूकम्पका कारण त्रिपालमा पुगेको थियो । गरिब दलित परिवारका उनीहरूलाई साँझ बिहानको छाक टार्नै धौ–धौ पर्ने अवस्था छ, त्यही कारण सुत्केरी हुँदा पनि परिवारले राम्रो उपचारको प्रबन्ध गर्न सकेको थिएन ।