गल्याङमा जन्मिएका छोरीको बैंक खातामा ५ हजार

गल्याङमा जन्मिएका छोरीको बैंक खातामा ५ हजार


स्याङ्जा ।

स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीखोलास्थित कुभिण्डेकी सन्ध्या विक छोरीको जन्मदर्ता गरेपछि निकै खुसी छिन् । छोरीको जन्मदर्तापछि बुझाएको कागजातका आधारमा नगरपालिकाले छोरीको नाममा बैंक खाता खोलेर ५ हजार रुपैयाँ जम्मा गरिदिएपछि उनी निकै खुसी भएकी हुन् ।

उनी निकै खुसी हुनुको कारण ५ हजार रुपैयाँ नगद मात्रै थिएन । छोरी जन्मिएपछि समाजमा हेलाको भावमा हेरिने विगतको दृष्टिकोणमा आउने परिवर्तनलाई लिएर उनी खुसी थिइन् ।

छोरी जन्मदै हेलाहोचो गर्ने हाम्रो समाज, त्यसमाथि गरिबीले थलिएका दलित परिवारमा जन्मने छोरीको जीवन असाध्यै पीडादायी हुने उनको भोगाइ र बुझाइ दुवै छ ।

‘दलित परिवारमा होस् वा अन्य परिवारमा जन्मेका छोरीको हकमा हालसम्म नगरपालिकाले केही गरेको थिएन,’ रोजगारीका लागि ५ वर्ष साउदी बसेर फर्केका सन्ध्याका पति यामबहादुरले भने, ‘यो वर्षदेखि जन्मेका छोरीको जन्मदर्ता गरेपछि ५ हजार रुपैयाँ नगद बैंकमा जम्मा गर्दा ठुलो राहतको महसुस गरेका छौँ ।’
पालिकाले अझ अतिविपन्न गरिबीको पहिचान गरेर पठनपाठनको व्यवस्था गर्न सके छोरीहरू थप सुरक्षित हुने उनको भनाइ छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ देखि सुरक्षित मातृत्वलाई बढावा दिन छोरी सुरक्षा अन्तर्गत ‘नगरकी छोरी’ कार्यक्रममार्फत छोरी जन्मेको ३५ दिनमा जन्मदर्ता गराएपछि बालिकाकै नामको बैंक खातामा ५ हजार रुपैयाँ जम्मा गरिदिने अभियान सुरु गरेको छ ।

छोरा जन्मिँदा खुसी र छोरी जन्मिँदा बेखुसी हुने समाजको परम्परालाई अन्त्य गर्न अभियान सुरु गरेको नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताए । ‘छोरी जन्मिँदा बेखुसी मात्रै होइन, जन्मनै नदिने (भ्रूण हत्या) गर्ने रुढीवादी सोचलाई कम गर्दै लैजान यो अभियान सुरु गरेका छौँ,’ प्रमुख भट्टराईले भने, ‘कार्यक्रमलाई प्रभाबकारी बनाउँदै बजेटको व्यवस्थापन गर्न सके अझै बढी रकम दिने योजनामा छौँ ।’

चालु आर्थिक वर्षदेखि सुरु भएको ‘नगरकी छोरी’ कार्यक्रमका लागि ५ लाख रुयैयाँ बजेट विनियोजन गरिएको पालिकाले जनाएको छ । अनुमानित बजेटको तुलनामा छोरी जन्मिने संख्यामा वृद्धि भएमा कार्यपालिकाको बैठकबाट थप बजेटको व्यवस्थापन गर्ने गरी कार्यक्रम तय भएको हो । गल्याङ नगरपालिकामा अघिल्लो वर्ष मात्रै १२६ छोरीको जन्म भएको थियो ।

पालिकामा चालु वर्षको हालसम्म ८१ जना छोरीको जन्म भए पनि जन्मदर्ता गरेर ५ हजार रुपैयाँ पाउनेमा ११ जना छोरीको बैंक खाता खोलिएको छ । बाँकी छोरीहरूको जन्मदर्ता र खाता खोल्ने क्रममै छ । छोरीहरूले ५ हजार रुपैयाँ पाउने भएपछि ३५ दिनभित्र जन्मदर्तासँगै अन्य घटना दर्ता गराउने अभियानलाई समेत टेवा पुग्ने पालिकाको विश्वास छ ।
मातृत्व सुरक्षणमा टेवा पु¥याउने उद्देश्यले नगरपालिकाले उप–प्रमुखको नेतृत्वमा सुत्केरी आमा भेटघाट कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत सुत्केरी आमा भेटघाटसँगै स्वास्थ्यकर्मीको सहयोगमा उनीहरूलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षा, पोसिलो खानपान र शिशु स्याहारका उपायहरुका बारेमा जानकारी दिने गरिएको उप–प्रमुख हेमा न्यौपाने बताइन् ।

स्थानीय सरकार बनेको झन्डै ७ वर्षपछि आफैँले छोरी जन्माउँदा बल्ल सिंहदरबारको अधिकार घर–घरमा भन्ने अनुभूति गरेको गल्याङ–१ मालुंगाकी माया अधिकारीले बताइन् । पालिकाले छोरीलाई ५ हजार दिनु र सुत्केरी भेटघाट कार्यक्रमले महिलाहरू स्वास्थ्यप्रति सजग बन्दै गएको अधिकारीले सुनाइन् ।