हुलाकी राजमार्गमा टेढाकट्टीमा स्थानीयको विरोध कायमै

हुलाकी राजमार्गमा टेढाकट्टीमा स्थानीयको विरोध कायमै


बारा ।

नेपाल र भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको बाराको तामागढीदेखि सिम्रौनगढ हुलाकी सडकखण्डको निर्माण सम्पन्न भएको ३ वर्ष भइसकेको छ ।

सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराईरमधेशका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भएको थियो । बाराको निजगढ नगरपालिकाको पश्चिम दक्षिणबाट कोहल्बी नगरपालिका, आदर्श कोतवाल गाउँपालिका, सिम्रौनगढ नगरपालिका जोड्ने तामागढी–सिम्रौनगढ हुलाकी राजमार्गको कुल लम्बाइ ३९.७५ किलो मिटर रहेको छ ।

आयोजनाको २०७७ चैत्र १७ गते सम्पन्न भएको उक्त मार्गबाट रौतहटको फतुुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका, बाराको निजगढ नगरपालिका, कोल्हबी नगरपालिका, बारागढी गाउँपालिका, आदर्श कोतवाल गाउँपालिका र सिम्रौनगढ नगरपालिकालगायतका बासिन्दा लाभान्वित भएका छन् ।

तर, बाराको आदर्श कोतवाल गाउँपालिका–५ स्थीत टेढाकट्टीमा भने यस मार्गको निर्माण देखीनै सुरु भएको विवादका कारण करिब १.५ डेढ किलोमिटर सडक हालसम्म पनि सम्पन्न हुन सकेको छैन ।

तामागढी–सिम्रौनगढ हुलाकी राजमार्गको नक्सांकन हुँदा बाराको आदर्श कोतवाल गाउँपालिकाको टेढाकट्टीबाट पश्चिम हुँदै जाने योजना बनाईएको थियो । नक्सांकन हुदाँ बनाइएको मार्गलाई परिवर्तन गरेर रेखांकन (एलाइन्मेट) गर्दै टेढाकट्टीको बस्तीबाट हुलाकी राजमार्गको निर्माण सरु भएसँगै विवाद भएको हो । आफ्नो जग्गामा परेको भन्दै टेढाकट्टी स्थानीयले गरेको विरोध अझै कायमै छ ।

मार्गको निर्माण सुरु गर्दा नै घरजग्गा मासिने भन्दै स्थानीयले विरोध गरेपछि बन्न नसकेको करिब २ किलोमिटर बाटेको निर्माण अझै अन्योल कायमै छ ।

बाक्लो र साँघुरो बस्तीबाटै मार्ग लैजाँदा धेरै घर मासिने भएपछि स्थानीयले विरोध गरोका हुन् । जसका कारण यस क्षेत्रमा राजमार्ग कालोपत्रकाे काममा अवरोध भएको थियो । विकासका नाममा बस्ती ताक्दै उजाड बनाउने नियतका कारण कडा संर्घष गरेको सरोकारवाला स्थानीयले बताएका छन् ।

स्थानीयले मार्गको पहिला भएको नक्सा‌ंकनबाट मार्ग गएमा स्थानीयको घर तथा बस्ती जोगिने स्थानीयले बुझाइ छ ।

सडक निर्माणका लागि स्थानीयले जग्गा अधिग्रहण गर्न नदिने र सडक बस्तीबाट नभई अन्य स्थानबाट सडक बनाउन दबाब दिँदै आएकाले सडक निर्माणका समस्या भएको र यस क्षेत्रमा जग्गा अधिग्रहण गर्न स्थानीय तहले पनि चासो नदेखाउँदा समस्या समाधान हुन नसकेको स्थानीयको भनाइ छ ।

घना बस्तीसहितको उर्बर भूमिसमेत विनाश हुने गरी हुलाकी राजमार्गको निर्माण थालनी गरिएपछि यस क्षेत्रका बासिन्दामा चिन्ता, चासो र सरोकार बढेको बताइएको छ ।

टेढाकट्टीको पहिचान नै गुम्ने अवस्था उत्पन्न हुने देखिएकाले स्थानीयले यस क्षेत्रबाट निर्माण कार्य तत्कालै रोकेका थिए । नेपाल र भारत सरकारको सहयोगमा कुल ८६ करोडको लागतमा निर्माण भएको उक्त मार्गको लम्बाइ ३९.७५ प्रतिशत किलोमिटर रहेको सो सडक निर्माणको ठेक्का पप्पु एन्ड जेबी कन्स्ट्रक्सनले लिएको थियो ।