तरुल खोज्न गएका युवाको हत्या, सँगै गएका व्यक्ति पक्राउ

तरुल खोज्न गएका युवाको हत्या, सँगै गएका व्यक्ति पक्राउ


पर्वत ।

पर्वतमा तरुल खोज्न जङ्गल गएका युवकको हत्या भएको छ । मोदी गाउँपालिका-२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो ।

रिजालको उनीसँगै तरुल खोज्न गएका व्यक्तिले हत्या गरेको प्रहरीले जनाएको छ । रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए ।

रिजाललाई प्रेमबहादुर नेपालीले तरुल खन्न प्रयोग गरिएको हतियारले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए ।

नेपालीको आक्रमणपछि अचेत अवस्थामा जङ्गलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक जिसीले बताए ।

नेपालीको आक्रमणबाट श्रीराम शर्मा पनि घाइते भएका छन् । शर्माको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक जिसीले जानकारी दिए ।

हत्या गरेको आरोपमा प्रहरीले नेपालीलाई नियन्त्रणमा लिएको छ । नेपालीले पुरानो रिसइबीका कारण रिजालको हत्या गरेको बयान दिएका छन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।