गलत ढंगले रातु नदीमा उत्खनन भइरहेको अनुगमन समितिको ठहर

गलत ढंगले रातु नदीमा उत्खनन भइरहेको अनुगमन समितिको ठहर


महाेत्तरी ।

रातु नदीमा भइरहेको उत्खननलाई अनुगमन समितिले गलत ढंगले उत्खनन भएको ठहर गरेको छ ।

जिल्ला समन्वय समितिका संयोजक सुमनलाल कर्णको संयोजकत्वमा भएको अनुगमनले प्रक्रियागत ढंगबाट उत्खनन नभएको निष्कर्ष निकालेको हो ।

सोमबार भएको अनुगमनका क्रममा धेरै त्रुटि भेटिएको संयोजक कर्णले बताए । ‘हामीले धेरै त्रुटि पहिचान गरेका छौँ । पहिला त एकपटक सुधारका लागि सुझाव दिनेछौँ,’ कर्णले भने, ‘त्यसपछि कानुनी प्रक्रियामा जानेछौँ ।’

यता, प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले पनि अहिले भइरहेको उत्खननप्रति असन्तुष्टि जनाएका छन् । सूचना बोर्ड नराखेको, घाटगद्दी तथा संकलन केन्द्र नदेखिएको, ड्यामबाट ५०/५० मिटर छाड्नुपर्ने ठाउँमा नछाडिएको, रेखांकन नगरिएको, मापदण्डभन्दा गहिरा खाल्डा खनिएकोलगायत धेरै त्रुटि भेटिएको प्रमुख गेलालको निष्कर्ष छ ।

उनले पनि नगरपालिकालाई पत्र लेख्ने र अहिले भइरहेको उत्खननलाई मापदण्डअनुसार कार्यान्वयन गर्न लागिपर्ने बताए ।

उत्खनन मापदण्डको वैधतामाथि प्रश्न उठेपछि जनप्रतिनिधिले समेत आपत्ति जनाएका छन । बर्दिवास-६ र ८ का वडाध्यक्ष शम्शेर सिंह र पदम आलेमगरले मापदण्डविपरीत भएको उत्खनन तत्काल रोकिनुपर्ने बताए ।

‘खोलामा नै पुगेर अनुगमन गर्‍यौँ । निकै गहिरा खाल्डा देखिएका छन् । यसलाई रोक्नुपर्छ भन्ने नै हाम्रो निष्कर्ष हो,’ शम्शेर सिंहले भने ।

कार्यपालिका बैठकमा पनि यो विषय गम्भीर रूपमा उठाउने पदम आलेमगरले बताए । त्यस्तै पूर्व नगर प्रमुख विदुर कार्कीले पनि उत्खनन भइरहेको ४ नम्बर खण्ड निकै भयावह ढंगबाट भएको भन्दै आपत्ति जनाएका छन् ।

विगतमा पनि उत्खननका क्रममा सम्झौताभन्दा बढी उत्खनन गरेपछि आफ्नै कार्यकालमा नापजाँच गरेर १२ करोड राजस्व बाँकी रहेको र अहिले पहिलेभन्दा पनि डरलाग्दो गरी उत्खनन गरेको कार्कीको भनाइ छ ।

उत्खनन भइरहेको ३ र ४ खण्डमा बेथिति देखिएको भन्दै उनले तत्काल उत्खनन रोकिनुपर्ने माग राखे ।

‘नत्र सर्वदलीय छलफल गरेर कानुनी उपचार खोज्नेछौँ,’ कार्कीले भने, ‘पर्यावरण प्रतिकूल हुने गरी र ऐनविपरीत काम गर्न कसैलाई छुट छैन ।’

यता, नगर प्रमुख क्षेत्रीले भने अनुगमन रिपोर्टलाई आधार बनाएर काम गर्ने बताएका छनु । क्षेत्रीका अनुसार ठेकेदार कम्पनीहरूलाई चेतावनी दिइसकेको र अटेर गरे कारबाही हुनेछ ।

नगरले रातु नदीको पथलैया, जुरेटोल, फूलबारी र किसाननगर खण्डमा ६ करोड ४३ लाख ९ हजार ९९९ रुपैयाँमा ठेक्का लगाएको हो ।