फेरि तुलसीपुर-घोराही सडकखण्ड अवरूद्ध

फेरि तुलसीपुर-घोराही सडकखण्ड अवरूद्ध


काठमाडौं ।

जनकल्याण माध्यमिक विद्यालय दुधरासका विद्यार्थीले फेरि तुलसीपुर-घोराही सडकखण्ड अवरूद्ध गरेका छन्।

सोमबार अपराह्न विद्यालयबाट फर्किएका कक्षा ३ पढ्ने ८ वर्षीय सागर चौधरीको बसको ठक्करबाट मृत्यु भएको थियो।

भे १ ख ३६९७ नम्बरको बसले ठक्कर दिँदा सागरको घटनास्थलमा मृत्यु भएको थियो। ठक्करपछि विद्यार्थीहरूले इलाका प्रहरी कार्यालय तुलसीपुरको गाडी र बसमा तोडफोड गरेका थिए।

लगत्तै उनीहरूले तुलसीपुर-घोराही सडकखण्ड अवरूद्ध गरेका थिए। पीडित पक्ष, प्रहरी प्रशासन र बस समितिका बीचमा सहमति भएपछि सडक मध्यराति खुलेको थियो।

मंगलबार पनि विद्यार्थीहरूले विद्यालय बन्द गरी सडक अवरूद्ध गरेका हुन्।

विद्यार्थीहरूले सहमतिबारे जानकारी दिनुपर्ने माग राखेका छन्।

प्रहरी स्रोतका अनुसार बस धनीले बीमाबापत पाँच लाख र थप पाँच लाख मृतक परिवारलाई दिने सहमति भएको थियो।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले विद्यार्थीलाई सम्झाउने प्रयास भइरहेको जानकारी दिए।

बालकको शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा राखिएको छ। पोष्टमर्टमको तयारी भइरहेको र त्यसपछि परिवारले शव बुझ्ने सहमति पनि भइसकेको छ।