खुल्याे अवरूद्ध तुलसीपुर-घोराही सडक

खुल्याे अवरूद्ध तुलसीपुर-घोराही सडक


दाङ  ।

अवरूद्ध तुलसीपुर-घोराही सडकखण्ड खुलेको छ।

जनकल्याण माध्यमिक विद्यालय दुधरासका विद्यार्थीलाई सम्झाइबुझाइ गरेर बाटो खुलाएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसी बताए।

सोमबार अपराह्न विद्यालयबाट फर्किएका कक्षा ३ पढ्ने ८ वर्षीय सागर चौधरीको बसको ठक्करबाट मृत्यु भएको थियो। भे १ ख ३६९७ नम्बरको बसले ठक्कर दिँदा सागरको घटनास्थलमा मृत्यु भएको थियो।

ठक्करपछि विद्यार्थीहरूले इलाका प्रहरी कार्यालय तुलसीपुरको गाडी र बसमा तोडफोड गरेका थिए। लगत्तै उनीहरूले तुलसीपुर-घोराही सडकखण्ड अवरूद्ध गरेका थिए। पीडित पक्ष, प्रहरी प्रशासन र बस समितिका बीचमा सहमति भएपछि सडक मध्यराति खुलेको थियो।

मंगलबार पनि विद्यार्थीहरूले विद्यालय बन्द गरी फेरि सडक अवरूद्ध गरेका थिए।

‘विद्यालय नै बन्द गरी विद्यार्थीहरू सडक अवरूद्ध गर्न गएका थिए। हामीले सम्झाइबुझाइ गरेर पठाएका छौं,’ उनले भने।

प्रहरी स्रोतका अनुसार बस धनीले बीमाबापत पाँच लाख र थप पाँच लाख मृतक परिवारलाई दिने सहमति भएको थियो।

बालकको शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा राखिएको छ। पोष्टमर्टमको तयारी भइरहेको र त्यसपछि परिवारले शव बुझ्ने सहमति पनि भइसकेको छ।