घरबेटीले गरे १० वर्षीया बालिकालाई पटकपटक बलात्कार, अभिभावकले देखेपछि घटना बाहिरीयो

घरबेटीले गरे १० वर्षीया बालिकालाई पटकपटक बलात्कार, अभिभावकले देखेपछि घटना बाहिरीयो


विराटनगर ।

अभिभावकसँग डेरा गरी बस्ने १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचाबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रकाउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय घरबेटी पदम मगर रहेका छन् ।

धनकुटा घर भएकी बालिकाका हजुरबुबा र हजुरआमासँग मगरको घरमा डेरा बस्दै आएकी थिइन् । उनका बुबा विदेशमा छन् । आमा दोस्रो बिहे गरेर गएकी छन् ।

डेरा बस्दै आएकी बालिकालाई मगरले पटकपटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अभिभावकले देखेपछि घटना बाहिर आएको हो । कसैलाई भने कुटपिट गर्ने धम्की दिएर मगरले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

बालिकालाई जवरजस्ती लिएर जान खोज्दा बालिकाकी हजुरआमाले बुधबार दिउँसो देखेपछि घटना बाहिर आएको थियो । त्यसपछि सोधीखोजी गर्दा मंगलबार र त्यसअघि पनि पटकपटक बलात्कार भएको खुलेको प्रहरीले बताएको छ ।

डर र त्रास देखाएका कारण बालिकाले घटनाका बारेमा अभिभावकलाई सुनाउन नसकेको प्रहरीले बताएको छ । पीडित बालिकाको स्वास्थ्यमा समस्या देखिएको छ । बालिकाको उपचार र स्वास्थ्य परीक्षणका लागि धरान लगिएको प्रहरील बताएको छ ।