नगरपालिकाले तिरिदियो कृषि विद्युत् महसुल, किसान हर्षित

नगरपालिकाले तिरिदियो कृषि विद्युत् महसुल, किसान हर्षित


सिरहा।

गोलबजार नगरपालिकाले कृषि विद्युत् महशुल अनुदान कार्यक्रमअन्तर्गत किसानले प्रयोग गरेको करिब आठ लाख रुपैयाँ बराबरको महसुल विद्युत् प्राधिकरणलाई बुझाएको छ।

नगर प्रमुख श्याम कुमार श्रेष्ठको कार्यकक्षमा बिहीबार एक समारोहको आयोजना गरी नेपाल विद्युत प्राधिकरण मिर्चैयाका वितरण केन्द्रका प्रमुख मनोज कुमार शर्मालाई सात लाख ९७ हजार छ सय ४५ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

कृषि विद्युतको महसुल बुझाएपछि स्थानीय किसान हर्षित भएका छ्न्। वडा नम्वर १ भने लहान वितरणकेन्द्रले हेर्ने भएकाले त्यसकालागि ५० हजार निकासा भएको कृषि शाखा अधिकृत विरेन्द्र यादवले जानाए।

भुक्तानी भएको रकम साउनदेखि अहिलेसम्मको भएको नगरप्रमुख श्रेष्ठले बताए । अहिलेसम्म आएका निवेदनका आधारमा र साउनसम्म भुक्तानी गरिसकेका किसानहरुको विद्युत् महसुल बुझाएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए। उनले भने, ´अबको दिनमा नियमित आउने निवेदनहरुमा समेत आवश्यक छानबिन गरी थप्दै जानेछाैँ।’

पालिकाले गत असारमा सम्पन्न नगरसभाबाट कार्यविधि पास गरी प्रमाणिकरण गरेको भएपनि लेखा र प्रशासकिय प्रमुख नियमित नहुदा भुक्तानीमा ढिलाई भएको नगर प्रमुख श्रेष्ठले बताए। उनले भने, ‘नगरपालिकाले कार्यविधि पास गरिसकेको भएपनि लेखाका कर्मचारी नहुदा धेरै कामहरु नियमित रुपमा हुन सकिरहेको थिएन अव सवै कामहरु सहज ढङ्गले हुने छ। यो पनि कर्मचारी अभावकै कारण ढीलाई हुन गएको हो।’

हालसम्म नगरपालिकामा परेको एक हजार दुई सय ३५ निवेदन मध्येय १७ वटा अन्य मिटर र १२ वटाको आवश्यक कागजात नपुगेकाले एक हजार एक सय ४३ किसानको विद्युत महशुल भुक्तानी भएको कृषि शाखा अधिकृत यादवले बताए।

मिर्चैया वितरण केन्द्रका प्रमुख मनोज कुमार शर्माले सानै भएपनि किसानहरुले प्रत्यक्ष लाभ पाएको बताए। उनले भने, ‘यस वर्ष वर्षाको समयमा पनि खरेडी परेकाले किसानहरुले भुमिगत सिंञ्चाईको सहयोगमा खेतिपाती गरे। यस्तो वेलामा नगरले विद्युत महशुल तिरेर किसानकोलागि घाउमा मलहम पट्टी लगाएजस्तो भएको छ।’

प्रमुख शर्माले थपे, ‘नगरक्षेत्रमा तीन हजारको हाराहारीमा कृषि मिटर रहेको बताए। उनले आगामी दिनहरुमा बाँकी किसानहरुलाई पनि यस योजनामा समेट्न आग्रह गरे। चेक हस्तान्तरण कार्यक्रममा उपप्रमुख मानती साह, प्रशासकिय अधिकृत श्रीधर केसी, वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो।