ढुङ्गाकाे छपनीले हानेर हजुरआमा र नातिनीको हत्या, एक जना पक्राउ

ढुङ्गाकाे छपनीले हानेर हजुरआमा र नातिनीको हत्या, एक जना पक्राउ


म्याग्दी ।

धारिलो ढुङ्गा (छपनी) प्रहारबाट गम्भीर घाइते भएकी म्याग्दीको मालिका गाउँपालिका–७ बिमकी सात वर्षीया प्रियङ्का गर्बुजाको मृत्यु भएको छ।

उनको शनिबार बेलुका पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

शनिबार दिउँसो हजुरआमामाथि आक्रमण भएपछि उनी छेक्न पुगेकी थिइन्। छेक्ने क्रममा उनीमाथि पनि ढुंगा प्रहार भएको थियो।

ढुंगा प्रहारबाट उनकी हजुरआमाको घटनास्थलमै मृत्यु भएको थियो। प्रियंका र ६६ वर्षीया अमृता जुग्जालीलाई हेलिकप्टरबाट मणिपाल शिक्षण अस्पताल लगिएको थियो।

अस्पतालमा चिकित्सकले प्रियंकालाई मृत घोषित गरेको थियो। अमृताको भने उपचार जारी छ। उनी खतरामुक्त रहेको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए। उनीमाथि चिर्पट प्रहार भएको थियो।

हजुरआमालाई दरवाङ–मराङ सडकमा रगताम्मे देखेपछि बचाउन गएकी प्रियङ्काको टाउकोमा छपनी प्रहार भएको थियो। प्रियङ्काका भाइ प्रिन्स भने घरको खाटमुनि लुकेर ज्यान बचाएका थिए । मनिषाका छोरा र बुहारी खेतमा काम गर्न गएका समयमा घटना भएको थियो ।

लुरवाङको माथि जङ्गलमा घाँस काट्दै गरेका अमृता र अर्का एक जना महिलामाथि पनि चिर्पट प्रहार भएको थियो । प्रतिकार गर्ने क्रममा अमृता घाइते भएकी थिइन्। बिमको तल्लो गाउँ नजिकै एक ट्याक्सी पनि तोडफोड भएको स्थानीयले बताएका छन् ।

हत्या र आक्रमणमा संलग्न भएको आरोपमा मालिका–७ बिमवाङबाट स्थानीयले एक जना मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए।

‘एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ,’ प्रनाउ कुँवरले भने, ‘विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको छ।’

प्रहरीले पक्राउ परेका व्यक्तिलाई आज सार्वजनिक गर्ने तयारी गरेको छ। मृतकको शव परीक्षणका लागि बेनी अस्पतालमा लगिएको छ।