सांसद बनेका बंगलादेशी क्रिकेटका कप्तानले फ्यानलाइ हाने थप्पड

सांसद बनेका बंगलादेशी क्रिकेटका कप्तानले फ्यानलाइ हाने थप्पड


ढाका ।

बंगलादेशका राष्ट्रिय क्रिकेट टोलीका कप्तान शकिब अल हसनले आम निर्वाचनमा जित हासिल गरेका छन्।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीबाट टिकट पाएका शकिबले मगुराको पश्चिमी सहरबाट चुनाव जितेका हुन्।

उनले एक लाख ५० हजार बढी मतान्तरले चुनाव जितेको एएफपीले जिल्लाका प्रमुख प्रशासक अबु नसेर बेगलाई उदृत गर्दै समाचारमा उल्लेख गरेको छ।

प्रमुख विपक्षी दल नेसनलिष्ट पार्टी बिएनपीले भने चुनाव बहिस्कार गरेको थियो।

शकिबले क्रिकेटबाट संन्यास लिइसकेका भने छैनन्। उनी बंगलादेशी क्रिकेटका अलराउन्डर समेत हुन्।

तर, उनले यो चुनावी जित पचाउन सकेका छैनन् । बंगलादेशमा चुनाव जितेलगत्तै सामाजिक सञ्जालमा उनको एउटा भिडियो भाइरल भयो, जसमा उनले आफ्ना एक फ्यानलाई थप्पड हानेका थिए ।

भनिएको छ कि शकिब अल हसन आफ्नो निर्वाचन क्षेत्रमा गएका थिए, जहाँ उनका सयौं फ्यानले उनलाई चारैतिरबाट घेरेका थिए। यसपछि निलो रंगको शर्ट लगाएका एक व्यक्तिले उनलाई पछाडिबाट समातेका थिए, त्यसपछि साकिब अल हसन रिसाए र पछाडि फर्किए र कडा थप्पड हाने । यसपछि सबै फ्यान शान्त भए ।

कुल तीन सय सिटमध्ये २९९ सिटमा आइतबार मतदान भएको थियो।

निर्वाचन भएको २९९ सिटमध्ये सत्तारूढ दल अवामी २२३ सिटमा विजयी भएको छ। स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएकाहरूलाई पनि हसिनाकै पार्टी अवामी लिगको समर्थन थियो। विवादित चुनावमा ४० प्रतिशत मात्रै मत खसेको बताइएको छ। विपक्षी दलहरूले यो आँकडा पनि सही नभएको बताएका छन्।

प्रधानमन्त्री हसिनाले पाँचौं पटक चुनाव जितेर प्रधानमन्त्री बन्दै छिन्। उनी लगातार चौथो पटक प्रधानमन्त्री बन्न लागेकी हुन्।