काठमाडौं । दक्षिण अफ्रिकी क्रिकेटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्न पाउँदा उत्साहित देखिएका छन् । उनले नेपाली क्रिकेट समर्थकको उत्साह अनुभव गर्न र प्रतियोगिताको हिस्सा बन्न आफू आतुर रहेको बताएका छन् ।
कर्णाली याक्सको आधिकारिक फेसबुक पेजमार्फत भिडियो सन्देश जारी गर्दै मिलरले नेपाललाई नमस्ते भन्दै टोलीमा आबद्ध हुन पाउँदा खुसी लागेको बताएका हुन् ।
‘नमस्ते नेपाल । नेपाल प्रिमियर लिगमा कर्णाली याक्समा आबद्ध हुन पाउँदा म निकै उत्साहित छु,’ उनले भनेका छन् ।
उनले विभिन्न क्रिकेटरले एनपीएलका बारेमा चर्चा गरिरहेको र नेपाली समर्थकको क्रिकेटप्रतिको उत्साहको प्रशंसा गरिरहेको पनि बताएका छन् । हिमालयको काखमा हुने क्रिकेटको उत्सवमा सहभागी हुन आफू आतुर रहेको उनको भनाइ छ ।
‘म यो रमाइलोको हिस्सा बन्न निकै उत्साहित छु । हिमालयको काखमा हुने क्रिकेटको यस उत्सवमा सहभागी हुन आतुर छु,’ मिलरले भनेका छन् ।
भिडियो सन्देशको अन्त्यमा उनले कर्णाली याक्सको नारा ‘कम अन, याक अट्याक’ समेत दोहोर्याएका छन् ।
एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुँदैछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया