चन्दा नदिएकाे भन्दै १० दिनदेखि वडा कार्यालयमा ताला

चन्दा नदिएकाे भन्दै १० दिनदेखि वडा कार्यालयमा ताला


रौतहट।

संघीयता पछि गाँउ गाँउमा सिंहदरवार आउँछ र जनताको आधारभूत आवश्यकता पूरा गर्दै देशको विकास गर्छ, सुखी नेपाली समृद्ध नेपाल बन्छ भने यहाँका नागरिकले विश्वास लिएका थिए।

२०७४ को स्थानिय निर्वाचन पछि गाँउ गाउँमा सिंहदरवार त आयो तर जनता बाट चुनिएर आएका जनप्रतिनिधि अर्थात छोटे राजाहरू जनताको आवश्यकता भन्दा बजेटकै भागबण्डामा अल्झिएका छन् ।

नागरिकको पीरमर्कालाई हेर्ने उनीहरुलाई मतलब नै देखिएन । बजेट बाहेक अन्य समस्या देखने यीनलाई फुर्सद नै छैन। यसको ज्वलन्त उदाहरण बनेको छ रौतहटको वृन्दावन नगरपालिका ।

पूजाको लागि चन्दा नदिएको भन्दै वडा १ को कार्यालयमा एक समूहले डेढ सातादेखि ताला लगाएको थियो। तर उक्त ताला अर्थात वडाको कार्यालय खुलाईदिने कोही भएन।

वडा कार्यालयमा ताल्चा लागेपछि आम सर्वसाधारण मर्कामा परेका छन भने कार्यालयले प्रदान गर्दै आएको सम्पूर्ण सेवा बन्द भएको छ।

स्थानिय राजदेव पटेल करिब पाँच दिनदेखि वडा कार्यालय धाइरहेका छन्। तर, वडा कार्यालयमा ताला लागेको देखेर उनी सधैं फर्केर आउँछन्। उनको भर्खरै जन्मेकी छोरीको जन्मदर्ता बनाउन वडा कार्यालय धाउने गरेको बताउँछन्। वडा कार्यालयमा तालाबन्दी गरिएको कुरा थाहा पनि छैन र पटेल मोबाइल समेत चलाउँदैनन् ।

पटेललाई छोरीको जन्मदर्ता बनाई बालपोषण भत्ता खुवाउने चिन्ता लागेको छ।

तर, वडा कार्यालयमा तालाबन्दी कै कारण उनको छोरीको जन्मदर्ता बन्न सकेको छैन। उक्त वडाका राजदेव पटेल मात्र होईन कार्यालयमा डेढ साता देखि तालाबन्दीका कारण कैयौं सर्वसाधारण मर्कामा परेका छन। वडा अध्यक्ष रामनाथ सहनीले दुर्गा पूजाको अवसरमा लागेको मेलामा चन्दा नदिएका कारण वडा कार्यालयमा ताला लागेको स्वीकार्छन् ।

वृन्दावनका मेयर विनोदप्रसाद कुर्मीले दुर्गा पूजाको लागि बचन दिएको चन्दा प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित भएका कारण दिन नसकेकाकाले स्थानिय अमिन्दर पटेल सहितको टोलीले वडा कार्यालयमा तालाबन्दी गरेको अध्यक्ष सहनीले बताएका छन।

दुर्गा पूजाको अवसरमा मेला लगाउन नगरप्रमुख कुर्मीले पाँच लाख रुपियाँ दिने प्रतिबद्दता गरेको थियो । तर, पालिकामा प्रमुख प्रशासकीय अधिकृतको विषयमा विवाद उत्पन्न भएका कारण समयमा उक्त भुक्तानी हुन नसकेकाले आक्रोसित स्थानीयहरूले वडा कार्यालयमा तालाबन्दी गरेको वडाअध्यक्ष सहनीले बताएका छन्।

मेयरले भुक्तानी नदिँदा वडा कार्यालयमा किन तालाबन्दी गरेको भनेर सोध्दा स्थानीय अमिन्द्र पटेलले वडा कार्यालय पनि नगरपालिकाकै अंग भएकाले तालाबन्दी गरेको बताए । त्यसैगरी नगरको स्वास्थ संस्थाहरुमा औषधिको अभाव छ तर कसैको ध्यान गएको देखिएन।

यसरी वृन्दावन मात्र नभई जिल्लाको आधादर्जन पालिकामा बेथिति देखिएको छ।

सोमवार रौतहटको कटहरिया नगरपालिकामा पनि जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन। त्यस अघि गरुडा नगरपालिकामा सुविधाको माग गर्दै उपमेयर सहित जनप्रतिनिधिले पाँच दिन अघि नगरपालिकाको मुलगेटमा ताला लगाएर धर्नामा बसेका छन।

तालाबन्दीका कारण पाँच दिनदेखि त्यहाँका नागरिकले पाउने सम्पूर्ण सेवा सुविधा बन्द भएको छ।

उता तलबको माग गर्दै फतुवा बिजयपुरमा शिक्षक कर्मचारी एकसाता अघि देखि धर्नामा बसेका छन। उनीहरूको माग प्रती जनप्रतिनिधिहरु गम्भीर नभएको शिक्षकहरूको आरोप छ।

यसरी दुई गाउँपालिका सहित १८ स्थानियतह रहेको रौतहटको अधिकांश स्थानमा जनप्रतिनिधिहरु बजेटकै भागबण्डामा रुमलिएको देखिन्छ। मतदाता नागरिकको सेवा सुविधा र मार्कालाई उनीहरूले बिर्सनै सकेको देखिन्छ। तथापी नागरिकको समस्या समाधान तथा पालिकाहरुको अवस्था बारे राज्य गम्भीर हुनु जरुरी देखिन्छ।