गौशाला २६ को पहिचान खुलाउन खोज्नेविरूद्ध साइबर ब्युरोमा जाहेरी, छानबिन सुरु

गौशाला २६ को पहिचान खुलाउन खोज्नेविरूद्ध साइबर ब्युरोमा जाहेरी, छानबिन सुरु


काठमाडौं

बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै पहिचान खुलाउने खोज्नेविरूद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी परेको छ।

गौशाला २६ को पहिचान खुलाउने प्रयास गरेको भन्दै साइबर ब्युरोमा दुईवटा कसुरमा अनुसन्धान गरिदिन ६ वटा सामाजिक सञ्जालका पेजको नाम उल्लेख गर्दै जाहेरी परेको हो।

यसबारे साइबर ब्युरोले अनुसन्धान गरी पहिचान खुलाउने व्यक्तिहरूको खोजी भइरहेको एसपी पशुपतिकुमार रायले जानकारी दिए।

‘हाम्रोमा एउटा जाहेरी परेको छ। हामीले यसमा संलग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान गर्दैछौं,’ उनले भने।

गौशाला २६ ले वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर (मुलुकी अपराध संहिता, २०७४) को दफा २९४, दफा २९८ समेत र कम्प्युटर सम्बन्धी कसुर (विद्युतीय ‘इलेक्ट्रोनिक’ कारोबार ऐन, २०६३ को दफा ४७ समेत बमोजिम कसुर भएको भन्दै जाहेरी दिएकी हुन्।

पछिल्लो समय जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय तोकेपछि पीडित गौशाला २६ को पहिचान खुलाउने प्रयास गरेका छन्।

यसरी पहिचान खुलाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवश सापकोटा समेत छन्। उनीसहित विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालमा पहिचान खुलाउने काम गरेका छन्।

पहिचान खुलाएको भन्दै रास्वपाले दिवशलाई निलम्बन गरिसकेको छ।

पीडितको पहिचान सार्वजनिक गर्नेलाई अपराध पीडित ऐन, गोपनीयता सम्बन्धी ऐन र विद्युतीय अपराधसम्बन्धी विभिन्न दफा अनुसार कैद सजाय हुनसक्छ।

अपराध पीडित संरक्षण ऐनको दफा ६ मा बलात्कार मानव बेचबिखन, यौन दुर्व्यवहारका घटनाका पीडितको पहिचान कुनै पनि रूपबाट प्रकट गर्न नहुने भनिएको छ।

गोपनीयता सम्बन्धी ऐन २०७४ को दफा ३ को उपदफा ४ मा कुनै पनि व्यक्तिको जीवनमा असर पुग्ने, आघात पुग्ने गरी लेखेर, बोलेर, प्रकाशन गरेर वा विद्युतीय माध्यम प्रयोग गरेर वा अन्य कुनै पनि प्रकारले सार्वजनिक गर्नु वा गराउनु हुँदैन।